काेराेनाबाट ज्यान गुमाएका परिवारले शव एक मिटर परबाट मात्रै हेर्न पाउने

काठमाडौं, ३ जेठ : कोरोना भाइरसबाट ज्यान गुमाउने व्यक्तिको परिवार तथा आफन्तले मृतककाे शव छुन नपाउने भएका छन् । आफन्तले एक मिटर परबाट मात्रै शव हेर्न पाउने भएका छन्। मेडिकल काउन्सिलको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा यस्ताे व्यवस्था गरिएकाे हाे । तर शवलाई व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न भने पाउने उल्लेख गरिएकाे छ ।

मृत्यु भएका व्यक्तिको शव छुँदा भाइरस सर्ने भएकाेले संक्रमित व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने भएका कारण यस्ताे व्यवस्थासहितकाे शव व्यवस्थापन निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएकाे छ । सरकारले ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जान समेत रोक लगाउने भएकाे छ । कोभिड १९ बाट वृद्धवृद्धा र दीर्घरोगका बिरामीहरुमा उच्च जोखिम हुने भएकाेले याे व्यवस्था गरिएकाे हाे।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको शव अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सहभागी मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहित पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ । तर कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्न नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउनु पर्ने समेत विज्ञहरुले बताएका छन्।

शवलाई राम्रोसँग हावा खेल्ने कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरण प्रयोग गरेर मात्रै पोष्टमार्टम गर्नुपर्नेछ । साथै मृतकको धर्मअनुसार शवको सम्मान गर्दै उनका आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्ने उल्लेख गरिएकाे छ।

सम्बन्धित खवर

Back to top button