कालापानी विवाद : भारतले बढायो कालापानी लगायतका क्षेत्रमा हवाई गस्ती


दार्चुला, १० जेठ : नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ। पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ।
भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एकरदुई पटक उडान गर्ने गरेको थियो। ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२र१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने। भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए।



धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ। ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ।’
पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्याउने गरिएको थियो। बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन्।भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ।
यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो। यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो। भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ। त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको छ।
भारतले व्यासतर्फको क्षेत्रमा सुरक्षाकर्मीको संख्या पनि बढाएको छ। पिथौरागढबाट सिधै हेलिकप्टरमार्फत सुरक्षाकर्मी कालापानी क्षेत्रमा पठाएको उक्त क्षेत्रमा काम गर्ने नेपालीलाई उद्धृत गर्दै स्थानीय दलजित कुँवरले बताए। भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग राखेको छ।
चीनसितको रणनीतिक क्षेत्र भएकाले भारतले ती ठाउँहरूमा विभिन्न सुरक्षा निकायका क्याम्प राखेको छ। सबै सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् । नेपाली सुरक्षा अधिकारीले कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी बढाएको खबर प्राप्त भए पनि के कति संख्यामा थपेको बारे यकिन नभएको बताए।
पछिल्लो समय भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ। सीमा क्षेत्रको गस्तीमा ५र७ जना आउने ठाउँमा १०/१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४/५ पटक आउने गरेका छन्
भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ। स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ।








