भारत छिमेकीका लागि खतरा बन्दैछ -इमरान खान

काठमाडौं, १४ जेठ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको टिप्पणी गरेका छन् । नेपाल–भारतबीच सीमाविवाद चरमउत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री खानले भारत छिमेकी देशका लागि खतरा बन्दै गएकाे टिप्पणी गरेका हुन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिन्दूवादी फासिष्टको संज्ञा दिँदै उनले भारतको छिमेक नीतिको आलोचना गरेका हुन् । इमरानले ट्वीट गर्दै भनेका छन्, ‘मोदी सरकारले अपनाएको नाजी नीतिसरहको अहंकारयुक्त विस्तारवादी नीति छिमेकीका लागि खतरा बन्दै गइरहेको छ।’

इमरानले आफ्नो तर्क पुष्टि गर्न केही उदाहरण पनि दिएका छन्। उनी लेख्छन्, ‘मोदी सरकारले बंगलादेशलाई नागरिकता कानूनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको छ।’

इमरानले ट्वीटमा काश्मीर मुद्दा पनि उठाएका छन् । उनले लेखेका छन्, ‘भारतप्रशासित काश्मीरमा अवैध कब्जा जमाएर युद्ध अपराध गरेको भारतले पाकिस्तान प्रशासित काश्मीरमाथि पनि दाबी गरिरहेको छ।’

भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अल्पसंख्यकका लागि मात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको तर्क छ।

सम्बन्धित खवर

Back to top button