आज १३ औं गणतन्त्र दिवस ! घरघरमा दीपावली गरेर मनाइँदै


काठमाडौं, १५ जेठ : आज देशभर घरघरमा दीपवाली बालेर गणतन्त्र दिवस मनाइँदै छ । आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन अर्थात १३ औ गणतन्त्र दिवस । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ।
गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको हाे।



२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो। तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ती दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो।
सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन् ।








