सोती घटनाका दोषीलाई कडा कारबाही गर्छौं – वनमन्त्री बस्नेत


काठमाडौं, १६ जेठ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले रुकुम सोती घटनाका दोषीहरुलाई कडा कार्वाही हुने बताएका छन् । चौरजहारी-८, सोतीमा भएको बर्बरतापूर्ण घटनाका दोषीलाई कडा कारबाही हुने वन तथा वातावरण मन्त्री बस्नेतले बताएका हुन् ।
मन्त्री वस्नेतले आधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनौती दिने उक्त घट्नाले सबैलाई स्तब्ध बनाएको बताएका छन् । जाजरकोटका जनप्रतिनीधी समेत रहेका नेता वस्नेतले पीडित परिवारलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया- प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पो हो कि भन्ने आशंकाले थप पीडाबोध भईरहेको भन्दै सरकार सहित सिंगो राज्यपीडित परिवारको साथमा रहेकोले दोषी उपर कडा कार्वाही हुने दावी गरेका छन् ।



वनमन्त्री वस्नेतले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् :
“आधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनौती दिने उक्त घट्नाले हामी सबैलाई स्तब्ध बनाएको छ।सन्तान गुमाउनु परेका परिवारको निम्ति यो अझ बढि पिडादायी क्षण हो। घटना संगै सन्तानहरुको मृत्युको पिडामा रोईरहेका परिवारहरुलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया-प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पो हो कि भन्ने आशंकाले थप पिडाबोध भईरहेको हामिले देखिरहेका छौं। हामी विश्वास दिलाउछौं सरकार सहित सिंगो राज्य तपाईहरुको साथमा छ, हामी जनप्रतिनिधिहरु तपाईंहरुको साथमा छौं।विभिन्न राजनैतिक एबं सामाजिक संघ संस्थाहरु समेत तपाईहरुको साथमा छन्।
घट्नाको जानकारी पाए लगत्तै खोजि कार्य र अनुसन्धानलाई प्रभावकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिधीहरु समेत सरकारी संयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिहरुसंग समन्वय गर्दै आईरहेका छौं। जाहेरी दर्ता भएको छ, जाहेरीमा उल्लेखित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेको छ, हराईरहेको बाकि एक जनाको खोजिमा सशस्त्र प्रहरी बलको गोताखोर टिम लगायतले खोजि कार्य गरिरहेको छ, ४ जनाको पोष्टमार्टम भइसकेको छ भने एकजनाको भोली हुदैछ।
सबैबाट खबरदारी पनि भईरहेको छ। तसर्थ घट्नाको तथ्यपुर्ण छानविन हुनेछ। दोषिहरुलाई जरुर कारवाही हुनेछ र तपाईं पीडित परिवारजनहरुले न्याय पाउनु हुनेछ। फेरि एकपटक मृतकहरु सबैलाई श्रद्धाञ्जली ब्यक्त गर्दछु र शोकाकुल परिवारजन सबैलाई हार्दिक समवेदना भन्न चाहान्छु।”
जाजरकोट, भेरी नगरपालिका-४, रानागाउँका नवराज विक, मल्ल थरकी आफ्नी प्रेमिकालाई ‘भगाउन’ भन्दै १० जेठ सांँझ प्रेमीकाकै अनुरोधमा आफ्नासाथीसहित प्रेमिकाको गाउंँ पश्चिम रुकुमको सोती पुगेका थिए। त्यहां पुग्दा नपुग्दै उनिहरुमाथी आक्रमण भएको थियो ।
आक्रमणमा परि प्रेमी नवराज विक सहित ५ जनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् ।
घटनापछि प्रहरीले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
पाँच जनाको शव भेरी नदिमा भेटिएको थियो । अझै एक बेपत्ता छन् । यसअघि भेरीनगरपालिका-४ का नवराज विक, गणेश बुढामगर, सञ्जु विक, भेरीनगरपालिका-११ का लोकेन्द्र सुनार, रुकुम पश्चिम, चौरजहारी-१ का टिकाराम सुनारको शव भेटिएको हो । अर्का एक जना गणेश शाहीको खोजी कार्य भने जारी छ ।








