विद्यालय खोल्न हतार नगरन उच्चस्तरीय समितिलाई सुझाव

काठमाडौं, २२ जेठ : नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् ।

उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा आयोजित छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले वैकल्पिक उपाय अपनाएर पढाईनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकमा उनीहरूले लकडाउनले शिक्षा क्षेत्रमा ठूलो असर पारेको तर तत्कालै सञ्चालनमा जान नसकिने सुझाव दिएका थिए । छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय खोल्न र परीक्षा सञ्चालन गर्न हतार गर्न नहुने सुझाव दिएको जानकारी दिए । विद्यालय भवनलाई नै क्वारेन्टिन बनाइएकाले पनि विद्यालय सञ्चालन सम्भव नभएको उनको भनाइ छ ।

छलफलमा सहभागीहरूले लकडाउनका बेला विद्यार्थीलाई शैक्षिक गतिविधिमा व्यस्त राख्नुपर्नेमा जोड दिएका थिए । विद्यालय खोल्न सकिने वातावरण नभएकाले अहिलेको विकल्प दूर शिक्षा नै भएको उनीहरूको निश्कर्ष थियो ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा कुनै न कुनै तरिकाले पढाइलाई निरन्तरता दिनुपर्ने बताउँछन् । विद्यार्थीहरूलाई लामो समयसम्म पढाईबाट अलग राख्न नहुनेमा उनको जोड छ । शिक्षा मन्त्रालयले असारदेखि दुर शिक्षा सञ्चालन गर्न ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्नेसम्बन्धी निर्देशिका’ जारी गरिसकेको छ ।

निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच बाहिर रहेका, रेडियो–एफएममा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर–ल्यापटप भएको तर इन्टरनेट नभएका र इन्टरनेटसहितको कम्प्युटरमा पहुँच भएका विद्यार्थीको समूहलाई कसरी पढाउने भन्ने उल्लेख छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी निर्देशिका अनुसारै विद्यालयहरूले विद्यार्थीको लगत संकलन सुरु गरेको बताउँछन् ।

सम्बन्धित खवर

Back to top button