प्रदेश सरकारको लापरवाहीले गर्दा निको नहुँदै ६ संक्रमितलाई धनगढी बजारमा अलपत्र


धनगढी, २३ जेठ : कोरोना निको नहुँदै सेती अस्पतालबाट डिस्चार्ज गरीएका ६ जना कोरोना संक्रमितलाई साँझ फेरी अस्पतालमा राखिएको छ। बैतडीका चार र अछाम जिल्ला दुई संक्रमितलाई झण्डै पाँच घण्टासम्म धनगढी बजारमा अलपत्र छोडिएकोमा साँझ फेरी अस्पतालको आइसोलेसनमा राखिएको हो। सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन दत्त शर्माका अनुसार ६ जना कोरोना संक्रमितलाई साँझ ल्याएर अस्पतालको प्रि आइसोलेसन कक्षमा राखिएको हो। अस्पतालले दिउसो २ बजे डिस्चार्ज गरेपछि उनीहरु धनगढी बजारमा अलपत्र परेका थिए।
उनीहरु सेती अस्पताबाट हिड्दै महालक्ष्मी बैंकसम्म पुगेका थिए। उनीहरुले अस्पताल लाइनमै रहेको एक अस्पतालमा नास्ता समेत गरेका थिए। यसअघिसम्म दुई पटक लगातार कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गर्ने गरिएको थियो। तर स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै कोरोना रिपोर्ट नेगेटिभ नआएपनि अस्पतालको आइसोलेसनबाट घर पठाउन सक्ने व्यवस्था लागु गरेपछि सेती अस्पतालले पनि उनीहरुलाई डिस्चार्ज गरेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।



तर अस्पतालबाट डिस्चार्ज गरिएका उनीहरुलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भने कुनै पनि निकायले नगरेपछि उनीहरु अपलत्र परेका थिए। भोली सम्बन्धित पालिकाले एम्बुलेन्स पठाउने र त्यसपछि मात्रै उनीहरुलाइ होम आइसोलेनमा बस्ने गरी छोडिने सेती अस्पतालले जनाएको छ। ६ जना संक्रमित धनगढी बजार घुमेपछि आज बजार क्षेत्रमा संक्रमण फैलिने भन्दै त्रास फैलिएको छ।
शुदुरपश्चिम प्रदेश सरकार तथा सेती प्रादेशिक अस्पतालको चरम लापरवाहीका कारण उनिहरुलाई डिस्चार्ज गरेको देखिन्छ । निको नहुँदै अस्पतालले डिस्चार्ज गरेको भन्दै चर्को विरोध समेत भईरहेको छ।








