नेपालमा यो वर्ष सलह किराको हूल आउन नसक्ने निष्कर्ष सहितको प्रतिवदेन

काठमाडौँ,२४ जेठ: नेपालमा यो वर्ष सलह किराको हूल नआउने निष्कर्षसहितको प्रतिवदेन मरुभूमि सलहबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले बुझाएको छ ।

मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने तर आउँदा वर्षका लागि सावधानी अपनाउनु पर्ने निष्कर्षसहित निकालेको हो। वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलले निष्कर्ष निकालेको छ।

सलहबारे लामो समयदेखि अध्ययन गरेका र उनीहरुको मार्गको पूर्वानुमान गर्ने विज्ञहरुसँगको परामर्श तथा मौसमी अवस्थाको विश्लेषण गर्दा यो वर्ष सलहको प्रकोप नेपालमा नपर्ने देखियो । तर आउँदा वर्ष भने सम्भावना रहकाले सावधानीका लागि गर्नु पर्ने पूर्वतयारीमा अहिलेदेखि नै जुट्नु पर्ने विशेष समितिका संयोजक हुमागाईँले अध्ययनबारे प्रष्ट पारेका छन्।

हामीले तयार पारेको प्रतिवेदनको निष्कर्ष यो वर्ष नेपालमा सलह किरा भित्रने सम्भावना नरहेको तर आउँदा वर्षमा समस्या आउन सक्ने सम्भावना भएकाले आवश्यक तयारी गर्नु पर्ने बारे हुमागाईंले बताएका छन्। मिचाहा प्रवृत्तिका रोक–किराको प्रकोप आकश्मिक रुपमा आउन सक्ने सम्भावना जहिले पनि हुने र सलह पनि मिचाहा प्रवृत्तिकै किरा रहेको उनले बताए।

‘केही वर्ष पहिले गोलभेँडामा प्वाल पार्ने टुटा किराले दुःख दियो। गएको वर्ष अमेरिकन फौजी किराले मकैसहितका बाली खायो । यो वर्ष सलह आउने व्यापक चर्चा भयो । हामीले विज्ञसँग परामर्श गर्‍यौँ , तत्कालका लागि सलहको समस्या नआउने देखियो । तर जलवायु परिवर्तनका कारण विभिन्न मिचाहा प्रवृत्तिका रोग–किराको प्रकोप आउने सम्भावना रहिरहन्छ । त्यसले पूर्व तयारी तथा सावधानीका उपायहरु अपनाउनु पर्ने सुझाव दिएका छौँ।’उनले भने ।

सलहका बारेमा अध्ययन–अनुसन्धान खाँचो रहेकाले त्यसका लागि स्रोत–साधानसहितको स्थायी संरचना खडा गरी काम गर्नु पर्ने उनले बताएका छन् । प्रादेशिक तहमा समेत सलहबारे अध्ययनको व्यवस्था गरिनु पर्ने सुझाव दिएको उनले बताए।

सलह किराको नियन्त्रणका लागि प्रकोपको विगविगी रहेको अफ्रिका तथा दक्षिण पूर्वी एसियाका देशहरुमा आन्तरिक तथा अन्तरदेशीय संस्थाहरु तथा खाद्य तथा कृषि संगठन (एफएओ) लगायतका अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यसको स्थानान्तरणको अनुगमन र नियन्त्रणबारे काम गरिनु पर्ने वरिष्ठ किट वैज्ञानिक डा. सुनिल अर्याल, किट विशेषज्ञ डा. समुद्रलाल जोशीसहितको कार्यदलले सुझाव दिएका छन्।

तत्काल सलह किराका बारेमा सर्वसाधारणलाई यथार्थ जानकारी गराउने, चेतना जगाउने, अरु फट्यांग्रा र सलहको फरक छुट्याउन सक्ने क्षमता विकास गर्ने तथा भ्रमित वा आतंकित नभई सजग हुनु पर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

सम्बन्धित खवर

Back to top button