सुदूरपश्चिम प्रदेशसभा बैठकमा सदस्यहरुले आरडीटी परीक्षण बन्द गर्न माग

काठमाडौं, २७ जेठ : सुदूरपश्चिम प्रदेशसभा बैठकमा सदस्यहरुले आरडीटी परीक्षण बन्द गर्न माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा विश्वका बिभिन्न मुलुकले विश्वसनीय नतिजा दिन नसकेको भन्दै प्रयोग गर्न इन्कार गरेको आरडीटी परीक्षण किटको प्रयोग बन्द गर्न प्रदेशसभाका सदस्यहरुले माग गरेका छन् ।
आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरुमा फेरि पीसीआर परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएकोले जोखिम बढेको प्रदेशसभाको बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै नेकपाका सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले तत्काल आरडीटी परीक्षण बन्द गर्न माग गरेको बताए।



प्रदेशसभा सदस्य दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरुबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरडीटी बन्द गरी पीसीआर परीक्षण गर्नुपर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरे । उनले कैलालीमा पहिलोपटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पूरा हुन लागेको र यसबिचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोस व्यक्त गरे ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले युरोपियन देशहरुले आरडीटी किटको विश्वसनीयतामाथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए । उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुनसक्ने भन्दै बन्द गर्न माग गरे ।
नेकपाकै प्रदेशसभा सदस्य पूर्णा जोशीले आरडीटी परीक्षणको औचित्य नभएकोले बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन् । क्वारेन्टाइनहरु व्यवस्थित नभएको र मत्युघरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरु बढाउने र भएका प्रयोगशालाहरुको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।








