लकडाउनको कारण सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा चालू आर्थिक वर्षको करिब ५० प्रतिशत विनियोजित बजेट खर्च नहुने

काठमाडौं, २७ जेठ : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लगडाउनको कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ ।बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछा लगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब रु एक अर्ब मूल्य बराबरको क्षति भएको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ।

लकडाउनका कारण सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कृषितर्फ ब्रोइलर कुखुरापालन, बिक्री वितरण र उत्पादनमा बढी क्षति पुगेको मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ वागवानी विकास अधिकृत खगेश्वरप्रसाद शर्माले बताए।

“ब्रोइलर कुखुराको दानापानी, खोप बन्द हुनाका साथै किसानले करिब ५० हजार कुखुरा गाड्नुपर्दा रु २५ करोड मूल्य बराबरको क्षति भएको तथ्याँक छ”, प्रवक्ता शर्माले भने, “लकडाउनको पहिलो महिना धेरै क्षति पुगे पनि त्यसपछि सरोकारवाला निकायसितको समन्वयमा कृषिक्षेत्रमा सहजीकरण हुँदा राम्रो पनि भयो ।” कुखुरा, दाना, अण्डा उत्पादन तथा बिक्रीमा समस्या हुँदा गरेर रु ५० करोड क्षति भएको उनले बताए।

“अहिले बजारमा कुखुराको मूल्य बढ्नाका साथै अभाव पनि देखिएको छ”, उनले भने, “आहारकै कारण चल्ला नष्ट गर्दा अहिले अभाव हुनु स्वाभाविक हो ।” उनले तरकारी बिक्रीमा सहजीकरण गरेकै कारण धेरै नोक्सान हुन नपाएको बताए ।

“हावाहुरी र पानीले केहीहदसम्म बगरको तरकारीमा क्षति पुग्यो”, शर्माले भने, “सहजीकरणले नै किसानले गहुँ भित्र्याउन पाउनुका साथै अहिले धानको बीउ र मल सहजै उपलब्ध भइरहेको छ ।” लकडाउनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन भएको तरकारी र फलफूल निर्यात हुन नसकेको उनले बताए।

सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा गरी नौ हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती, ११ हजार हेक्टरमा आलुखेती, पहाड र तराईमा गरेर आठ हजार हेक्टरमा फलफूलखेती हुँदै आएको मन्त्रालयले बताएको छ ।

“लकडाउनअघि सुदूरपश्चिममा दैनिक ४० हजार लिटर दूध बजारमा आउँथ्यो”, शर्माले भने, “दुग्ध उत्पादनमा मात्रै दैनिक रु ८० लाखको क्षति भइरहेको छ ।” मासु बिक्रीमा रु दुईदेखि चार करोड मूल्य बराबरको क्षति पुगेको बताउँदै उनले ५०० टन माछा समेत बन्दाबन्दीका कारण बिक्री हुन नसकेको जानकारी दिए । “तरकारीमा दैनिक ५० टन बिक्री हुन समस्या भयो”, शर्माले भने, “तरकारीमा मात्रै रु दुईदेखि तीन करोड मूल्य बराबर क्षति भएको छ ।”

कृषि क्षेत्रमा भएको क्षतिबारे केन्द्रीय कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको छ । “पछिल्लो समय स्थानीय प्रशासनसित समन्वय हुँदा यहाँका सहकारीले करिब ६०० टन डिएपी मल भैरहवाबाट यहाँ ल्याएका छन्”, उनले भने, “धानको बीउ भने सुदूरपश्चिमकै स्थानीय उत्पादन पर्याप्त छ ।”

मन्त्रालयले कृषि ज्ञान केन्द्र लगायतका निकाय मार्फत रु दुई करोड अनुदानको धानको बीउ किसानलाई ५० प्रतिशत अनुदान रकममा वितरण गरिएको जानकारी दिए । “बीउका लागि हामीले अरुको मुख ताक्नुपर्ने अवस्था छैन”, उनले भने, “दुई हजार टन बीउ स्थानीय उत्पादन छ ।”

त्यसैगरी प्रदेश कृषि मन्त्रालयको चालू आर्थिक वर्षको करिब ५० प्रतिशत रकम फ्रिज हुने सम्भावना रहेको छ । “चालू आवमा मन्त्रालयअन्तर्गत रु दुई अर्ब ८० करोड बजेट विनियोजन भएको थियो”, प्रवक्ता शर्माले भने, “बन्दाबन्दीका कारण ५० प्रतिशत रकम खर्च हुनेसक्ने सम्भावना कम छ ।”

लकडाउनका कारण सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका विभिन्न कार्यक्रम सञ्चालन हुन सकेनन् ।यान्त्रिकीकरण लगायत केही ठूला योजनाको काम भने निरन्तर रहेको तर समग्रमा यस बर्ष कृषि क्षेत्रमा समस्यामा नै रहेको शर्माले बताए।

सम्बन्धित खवर

Back to top button