सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख सापकोटाको अस्वीकृत

काठमाडौँ, ३१ जेठ: संविधान संशोधन विधेयकमा समाजवादीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’ रहेको भन्दै सभामुख सापकोटाले संशोधन अस्वीकृत गर्ने निर्णय गरेका हुन्। संशोधन अस्वीकृत भएसँगै गिरीको संशोधनमाथि सदनमा छलफल र मतदान हुनेछैन। संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको कार्यसूचिमा गिरीको संशोधन पेश गर्ने उल्ललेख छैन।

निशान छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, गुटी, गुञ्जी, नावीलगायतका क्षेत्र समेट्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले उक्त संशोधनलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्। उनले बुधबार विधेयक शाखामा दर्ता गराएको संशोधनमा ‘स्रोत र प्रमाण नपुर्याएकाले’ विधेयकको दफा २ नै खारेज हुनुपर्ने प्रस्ताव गरेकी छिन्।

समाजवादीले गिरीलाई संशोधन फिर्ता लिन चेतावनी युक्त निर्देशन दिए पनि उनले फिर्ता लिन इन्कार गरेकी थिइन्। सांसद गिरीले दर्ता गराएको संशोधन प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ विपरीत रहेको भन्दै सभामुखले निर्णय गरेका हुन्।

नियमावलीको ११२ (२) मा लेखिएको छ, ‘सभामुखले यस नियमको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अश्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।’

सम्बन्धित खवर

Back to top button