‘एमसीसी परियोजना राष्ट्रघाती भन्नु दुःखद’, कांग्रेस सांसद कार्की


काठमाडौं, ४ असारः अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई सत्तारुढ दलका नेताहरुले राष्ट्रघाती भन्नु दुःखद भएको नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले एमसीसी ल्याउन धेरै सरकारले योगदान गरेको र यो एकै रातमा बन्द कोठाबाट नभएको बताए। सम्झौतामा राष्ट्रिय हितमा आँच आउने एउटा शब्द पनि नभएको उल्लेख गर्दै उनले भने, ‘‘सम्झौता एकैदिनमा एकै रातमा बन्द कोठाबाट आएको सम्झौता होइन् । यो ल्याउनका लागि धेरे सरकारहरुले योगदान गरेका छन्। बाबुराम भट्टराई, खिलराज रेग्मी, शुशील कोईराला, पुष्पकमल दाहाल प्रचडको समयमा गति लिएर शेरबहादुर देउवाको समयमा सम्झौता भएको हो । यतिको सरकारका प्रधानमन्त्रीहरु, सहभागि मन्त्रीहरु सबै राष्ट्रघाती हुन ? राष्ट्रघाति हुन भने यो यो कारणले राष्ट्रघाती हुन भन्नुपर्यो। होइन भने राष्ट्रको हितमा रहेको यो सम्झौतालाई राष्ट्रघाती सम्झौता भनेर समाजमा अन्यौलता सिर्जना गरी अन्तर्राष्ट्रियस्तरमा हाम्रो विश्वसनियता र हाम्रो व्यक्तित्वमाथि प्रश्न उठिरहेको छ ।’’



एमसीसीले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई अगाडी बढाउने उल्लेख गर्दै उनले विद्युतको क्षेत्रमा यसले ठूलो गेम चेञ्जरको भूमिका खेल्ने बताए। सम्झौता लागु भएपछि अमेरिकी सेना नेपाल आउँछ भन्ने भ्रम छरिएको भन्दै उनले दुःख व्यक्त गरे। सम्झौतामा कुनै सैनिक गतिविधि हुने, नेपालको संविधानभन्दा माथि हुने भन्ने कुरा उल्लेख नभएपनि भ्रमण सिर्जना गरिएको उनले बताए।
सम्झौता अनुसार काम गर्न अमेरिकी ठेकेदार आउँछ भनेर अर्को भ्रम छरिएको उल्लेख गर्दै उनले त्यो कुनै दफामा नलेखिएको र ग्लोबल टेण्डरबाट काम अगाडी बढ्ने बताए। एमसीसी गुमाए अरुण तेस्रो गुमाएको भन्दा ठूलो पीडा हुने तथा विश्वसनियता र आर्थिक सम्भावनाको ढोका पनि गुम्ने उनले बताए।
उनले एमसीसीलाई बहसको विषय बनाएर संसदमा छलफल गरी निष्कर्षमा पुर्याउन पनि सभामुखलाई आग्रह गरे।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर भएको सम्झौतामा कार्कीले नेपालको तर्फबाट हस्ताक्षर गरेका छन्। उनी अर्थमन्त्री भएको समयमा नै यो सम्झौता भएको हो । पछिल्लो समय सत्तारुढ दलभित्र एमसीसी पारित गर्ने र नगर्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ।








