रुकुम पश्चिम हत्याकाण्डको थुनछेक बहस आइतबार पनि सकिएन, कहिले आउँछ आदेश ?


काठमाडौं, ७ असारः रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरि भएको घटनामा जिल्ला अदालतमा जारी थुनछेक बहस आइतबार पनि सकिएन। जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता विनोद पौडेलले आइतबारको बहस सकिएको र अझै केही कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको बताए। उनका अनुसार १७ जना कानुन व्यवशायीले बहस सिध्याएका छन्।
शुक्रबार ७ जना र आइतबार १० जना कानुन व्यवसायीले बहस गरेका छन्। सम्भवत् सोमबार थुनछेकको आदेश आउन सक्ने छ। सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको छ। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।



रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ।
प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको छ।








