पार्टीकै घेराबन्दीमा परेका ओली आफ्नो पक्षका नेताहरुसँग परामर्शमा


काठमाडौँ, १७ असारः पार्टीकै घेराबन्दीमा परेका प्रधामन्त्री केपी शार्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग परामर्श थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका नेताहरुसँग बुधबार बिहानैदेखि छलफल थालेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल तथा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङसहितसँग ओलीले छलफल गरिरहेका छन् ।



क्याबिनेट बैठक नभए पनि प्रधानमन्त्रीले मन्त्री तथा पार्टीका नेताहरुसँग छलफल गरिरहेको प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा र्याखर्याख पारेका हुन् ।
केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले ‘खुलमटारमा बैठक बसी रणनीति बनाएर यहाँ आउनु हुन्छ तपाईँहरु, मेरोविरुद्ध मोर्चाबन्दी गर्नु भएको छ । भारतीय सञ्चारमाध्यममा सोही भाषामा खबर आइरहेका छन् । तपाईँहरु र भारतीय मिडियाको भाषा कसरी उस्तै हुन सक्छ । प्रचण्डले ओलीको राजीनामा मागेको भनेर त भारतीय सञ्चारमाध्यमले भनेकै छन् । मैले भारतका बारेमा बोल्दा तपाईँहरुलाई दुख्नुको कारण बुझ्न सकिनँ ।’
ओली नेता नेपाल र अर्का नेता झलनाथ खनालमाथि पनि मंगलबारको बैठकमा खनिएका थिए।








