कोरोना संक्रमण बढ्दै गएपछि बिहान ११ बजे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने


काठमाडौँ, २० साउनः काठमाडौँ उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविदहरुसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।



प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।
पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।








