नेपालका ९० प्रतिशत नागरिकमा पुग्यो विजुली

काठमाडाैँ, ३१ साउनः मुलुकभरका ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा विद्युतको पहुँच पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुनिता कार्कीले लेखेकी छन् ।

प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ। प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेको ठाउँमा सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ ।

‘आव २०७२–०७३मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो, चार वर्षभित्र २३.२८ प्रतिशतले विद्युतको पहुँचमा बृद्धि भई अहिले ८६.४४ प्रतिशत पुगेको छ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

‘आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छौँ, यसका लागि बजेटको जोहो भइसकेको छ,’ उनले भने ।

एसियाली पूर्वाधार लगानी बैकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ ।

सम्बन्धित खवर

Back to top button