आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने डा. केसीको प्रतिवद्दता

काठमाडौं, ८ असोज : चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीले सरकारले आफूसँग पटक पटक गरेको सम्झौता उलल्लंघन गरेकाले यस पटक त्यसै नछोड्ने बताए । डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी बिहीबार टिचिङ अस्पताल पुगी डा. केसीको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै उनका मागप्रति ऐक्यवद्धता जनाएका छन् । उनले डा. केसीमाथि जुम्ला र काठमाडौं आउँदा प्रहरीले गरेको ज्यादतीप्रति आपत्ति पनि जनाए ।

डा. केसीले उठाएका मागप्रति आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको भन्दै सम्बोधन गर्न सरकारसँग माग पनि गरे । स्वास्थ्य शिक्षा सुधारका अनवरत संघर्षरत डा. केसीले जुम्लामा आफ्नो १९ औं अनशन थालेका थिए । तर स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।

जुम्लामा काठमाडौं आई उपचारका लागि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले त्यहाँ जान नदिई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । त्यहाँ प्रहरीले डा. केसीमाथि दुर्व्यवहार गरेकामा सर्वत्र आलोचना भएपछि सरकारले उनलाई शिक्षण अस्पताल जान दिएको थियो ।

डा. केसीले शिक्षण अस्पतालमा नलग्दासम्म कुनै उपचार नलिने अडान राखेपछि उहाँलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजञ्ज जान दिइएको थियो । उनी त्यही अनशनरत छन् ।

सम्बन्धित खवर

Back to top button