जीप दुर्घटनाका पीडितले शव बुझ्न मानेनन् , चालकको घर र पसलमा आगजनी

जाजरकोट, २२ असोज : जिल्लाको जुनीचाँदेमा बुधवार जीप दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले शव बुझ्न मानेका छैनन् । चालकको लापरवाही र मापदण्ड विपरितको सडक बनाएको भन्दै वडाध्यक्ष सहित ६ जनाको शव आफन्त र स्थानीयले बुझ्न नमानेका हुन् । घटना भएको एक दिन विति सक्दा पनि मृ’तकको शव आफन्तले बुझेका छैनन् ।

आक्रोशित स्थानीयले विहिवार चालक गोरख बस्नेतको जुनीचाँदे ५ मटेला स्थित घर र छेडागाड ६ सुवानाउली स्थित घुम्ती पसलमा आगजनी गरिदिएका छन् । प्रहरीले पिडित पक्ष सँग शव बुझ्न गरेको आग्रह र बार्ता असफल भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र जनप्रनिधिको रोहबरमा मात्र बार्तामा बस्ने अडान लिएका छन् । अहिले पनि पिडित पक्षले तर्फबाट पाँच सय बढी स्थानीयले ढुङ्गामुढा र नाराबाजी गरिरहेका छन् । आक्रोशित मृतकका आफन्त र स्थानीयले घटना लगत्तै ढुङ्गामुढा गर्न थालेका थिए । उनीहरुले जनप्रतिनिधि र प्रहरी प्रति लक्षित गरि ढुङ्गामुढा गरेका थिए । बडावन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलाई स्थानीयको आक्रोश रोक्न नसकेपछि जिल्ला सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स बुधवार नै पठाईएको थियो ।
सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएको स्थानीयले बताए छन् । घटना लगत्तत्तै घटनास्थल पुगेकी जुनीचाँदे गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्य लगायतका जनप्रतिनिधीलाई ढुङ्गाबुढा गरेपछि अहिले घटनास्थलको सुरक्षा प्रहरी र शसस्त्र प्रहरीले गरिरहेको छ । जनप्रतिनिधी कोही छैनन् ।

गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी भष्टाचार मुद्धामा निलम्बनमा छन् । घटनास्थल तनावग्रस्त भएपछि वार्ता गर्न र शव बुझाउन सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठ लगायतका सुरक्षा अधिकारी घटनास्थल तर्फ प्रस्थान गरेका छन् ।

दुघर्टनामा वडाध्यक्ष सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जना गम्भीर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा बुधवार दिउँसो दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । एक जना सुवागाडमा बेपत्ता भएका छन् । वडा नम्बर ११ का नरबहादुर बुढा गम्भीर घाईते भएका छन् । उनको उपचारका लागि सुर्खेत पठाईएको छ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल सुवागाडमा परेको थियो । गाडी चालक गोरख बस्नेतको मोवाईल गाडीमै फेला परेको छ तर उनी फेला पर्न सकेका छैनन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिममा पर्दछ ।

सम्बन्धित खवर

Back to top button