गौरिकाले १२ स्वर्ण जित्दै रचिन ८ कीर्तिमान


नेपालगञ्ज १३ बैशाख । त्रिभुवन आर्मी क्लबकी गौरिका सिंह आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छन् । उनले १२ वटा स्वर्ण जितिन् । सो प्रतियोगितामा आठ वटा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । पौडी प्रतियोगिताको सुरुकै दिन दुई स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान कायम गरेकी उनले दोस्रो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान, तेस्रो दिन चार स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान र चौथो तथा अन्तिम दिन चार स्वर्णसहित तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
चौथो दिन गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले हिट चरणमा निर्धारित दूरी २७.५९ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । यसअघि २७.९५ सेकेन्डको उनको कीर्तिमान थियो । यो स्पर्धामा आर्मीकै सोफिया शाह र एपीएफकी टिसा शाक्यले क्रमशः पहिलो र दोस्रो भए ।



यसैगरी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले निर्धारित दूरी एक मिनेट ०८.६३ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । आर्मीकी दुआना लामाले रजत र नेपाल पुलिस क्लबकी अनुष्का पोखरेलले कांस्य पदक जिते ।
गौरिकाले दुई सय मिटर व्यक्तिगत स्पर्धामा नयाँ कीर्तिमान कायम गरिन् । उनले दुई मिनेट ३२.०० सेकेन्डमा सो दूरी पार गर्दै कीर्तिमान बनाइन् । यसअघि उनकै नाममा दुई मिनेट ३२.५१ सेकेन्डको कीर्तिमान थियो । सो स्पर्धामा आर्मीकै दुआना लामा रजत र एपीएफकी टिसा शाक्यले कांस्य जिते । गौरिका सम्मिलित आर्मीले चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण जित्यो । यस्तै नेपाल पुलिसले रजत र एपीएफले कांस्यमा चित्त बुझाए ।
यसैगरी पुरुष ५० मिटर फ्रिस्टाइलमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । आर्मीका एलेक्स शाहले २५.०६ सेकेन्डको कीर्तिमान बनाएका हुन् । यो कीर्तिमान यसअघि शिरीष गुरुङको नाममा २५.८० सेकेन्डको थियो । यस स्पर्धामा पुलिसका शैयद हमजा साहले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य जिते ।
यसैगरी एनआएनएका नाथुन दोर्जे शेर्पाले पनि नयाँ कीर्तिमान बनाए । उनले एक सय मिटर ब्याकस्ट्रोकमा एक मिनेट ०७.०६ सेकेन्डको कीर्तिमान बनाएका हुन् । यसअघि प्रशान्तराज जोशीले एक मिनेट ११.५३ सेकेन्डको कीर्तिमान बनाएका थिए । एपीएफका तेन्जिङ नाम्दोल रायन गुरुङले रजत र एपीएफकै नासिर हुसेनले कांस्य जिते ।
पुरुष चार गुणा एक सय मिटर रिलेमा पुलिस पहिलो भयो । आर्मी दोस्रो र एपीएफले तेस्रो स्थान हात र्पायो ।
पौडीवाज गौरिका सिंह बझाङकी छोरी
ओलम्पियन तथा कीर्तिमानी नेपाली पौडीवाज गौरिका सिंहले आठौं राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । उनले आठवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन् । पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन् । नेपालगन्जको एउटा प्रतिस्पर्धा जितेपछि उनले भनिन्, “मेरो बुवाको घर बझाङ हो । त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ ।“ लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय बनेको छ ।
२०७३ साउनमा पौडीबाज गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने खेलाडीमध्ये सबैभन्दा कान्छी उमेरकी खेलाडी भएकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ब्राजिलको राजधानी रियोमा सुरु भएको ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा कान्छी उमेरकी खेलाडी भएकी थिइन् ।
रियो ओलम्पिकमा दुई सय ६ देशबाट १० हजार दुई सय ९३ खेलाडीले सहभागिता जनाएका थिए । गौरिका सिंहले नेपालको प्रतिनिधित्व गर्दै एक मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्दा उनी आधिकारिक रूपमा रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेमध्ये कान्छी उमेरकी खेलाडी घोषित भएकी थिइन् । त्यसपछि गौरिकाले नेपालको राष्ट्रिय टोलीबाट भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा समेत सहभागिता जनाएकी गौरिकाले नेपाललाई चार पदक दिलाएकी थिइन् । १२ औं सागमा गौरिकाले एक रजत र तीन कांस्य पदक जितेकी थिइन् । उनले नेपालको तर्फबाट गत अगस्टमा रसियाको काजनमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ । ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन् । नेपाली पौडीका लागि उनी अझ विशेष छिन् । दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन् । त्यो अवसर यसै वर्ष काठमाडौंमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ ।








