ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी


काठमाडाैं : शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। निर्वाचन आयोगले पेस गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझ्ने क्रममा यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले संसद् विघटनपछि सरकारले आगामी वैशाखमा तोकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहितबनाउन दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास पनि व्यक्त गरिन्।



प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, साङ्गठानिक एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन लगायतका विविध विषयहरू समेटिएका छन्।

उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन पनि राष्ट्रपतिले सुझाव दिइन्।
आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने भएकोले यो महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गरिन्।








