अधिवेशनबाट नै प्रदेशको नाम टुंगो लगाउँछौं : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंगो लगाउने बताएका छन्। बुधबार बिहान सरकारी निवासमा सरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीसँगको कुराकानीमा चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंग्याउने बताए ।

यस्तै‚ उनले चाँडै मन्त्रिपरिषद बिस्तार गर्ने बताए। मन्त्रिपरिषद बिस्तारपछि मात्रै संसद्को बैठक बोलाउने समेत बताए। ‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरू अधिवेशनमा व्यस्त भए‚’ उनले भने, ‘दलका नेताहरू फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने र संसद् बैठक बस्ने छौँ ।’

कात्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका राई आज सुनसरी मोरङ सिँचाई आयोजनाको सरकारी भवनमा सरेका छन् । नियुक्तिको दुई दिन होटलमा बसेका मुख्यमन्त्री राई त्यसपछि राष्ट्र बैंक विराटनगरको गेष्ट हाउसमा बस्दै आएका थिए । खर्च कटौती गर्ने उद्देश्यले सरकारी निवसमा प्रवेश गरेको बताउँदै उनले अन्य मन्त्रीका लागि पनि सरकारी निवास व्यवस्था गर्ने प्रयास भइरहेको बताए । उनले काठमाण्डौमा रहेको सम्पर्क कार्यालय बन्द गरेको बताए ।

‘मासिक करिब ४ लाख खर्च लाग्ने व्यवस्था काठमाडौंमा खोलिएको सम्पर्क कार्यालयलाई नचलाउने भन्ने निर्णय छ, बन्द पनि भइसकेको छ,’ उनले भने, ‘हामी काठमाडौं जाँदा बस्नका लागि सरकारी भवन नै उपलब्ध छ हामी त्यसैमा रहन्छौं ।’

आयोजनाको भवनमा यसअघि प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ बसेका थिए । केही समय प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बसेका थिए । तर, निवास मन नपरेको भन्दै उनी अन्यत्र सरेपछि त्यहाँ पूर्वमन्त्री उषाकला राई बस्न थालेकी थिइन् ।

सम्बन्धित खवर

Back to top button