डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालय दिपायल डोटीले उनिहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा गन्यापधुरा गाउँपालिका वडा नं.१ का दतराज अवस्थी, आलिताल गाउँपालिका वडा नं.७ का शोभा कुमारी वोहरा र नवदुर्गा गाउँपालिका वडा नं.२ का लक्ष्मी दत भट्ट रहेका छन् ।

कृषक अवस्थी पोलिहाउस भित्र तरकारी खेतीबाट,भट्ट तरकारी बिउ उत्पादनबाट र वोहरा पशुपालन व्यवसायबाट पुरस्कृत भएका हुन् । कृषि विकास निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबिच उनिहरु प्रत्येकलाई नगद रु.२५ हजार र सम्मान–पत्र सहित पुरस्कार प्रदान गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष नै कार्यविधी बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट शुरुवात गरेको कृषि विकास निर्देशनालय दिपायलका प्रमूख यज्ञराज जोशीले बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा ३/३ जनाका दरले कृषकहरुलाई उक्त पुरस्कार प्रदान गरिएको उनले बताए । ती ९ जिल्लाका २७ जना कृषकमध्येबाट पनि १ जनालाई सर्वोत्कृष्ट र ४ जनालाई उत्कृष्ट गरी ५ जना कृषकलाई यहि पुस ५ गते डोटीमै आयोजना गरिने कार्यक्रमबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगाएतको उपस्थितीमा पुरस्कार प्रदान गरिने जोशीले जानकारी दिए ।

डडेल्धुरामा जन्मिएका किसान नेता एवं सहिद भीमदत्त पन्तको नामबाट पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि भन्दा पनि किसानलाई गरिएको सम्मान महत्वपूर्ण भएको र यसले अरुलाई पनि कृषि कर्ममा लाग्न प्रेरित गर्न खोजिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमूख रामचन्द्र भट्टले बताए ।
कृषि र पशुपालन क्षेत्रमा राम्रो गर्ने किसानहरुको हौसलाका लागि पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमूख देव राज भट्टले बताए ।

‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफु पुरस्कृत भएकोमा खुशी व्यक्त गर्दै गन्यापधुरा गाउँपालिका वडा नं. १ का दतराज अवस्थीले वि.सं। २०५२ सालदेखि तरकारी खेतीमा लागेको अहिले आएर उपलब्धी हासिल गरे झैं महशुस भएको बताए । तरकारी खेती गर्न शुरुवात गर्दाको ५० वटा पोलिहाउस भित्र २० रोपनी जमीनमा तरकारी खेती गर्दै आएको बताए । जसबाट सिजनमा ४ देखि ५ लाखसम्म आम्दानी हुने गरेको उनले अनुभव साँटे । साथै आफुसँगै उनले गाउँका मानिसहरुलाई पनि तरकारी खेतीमा आकर्षित गरी सामुहिक तरकारी खेती गरिरहेको पनि सुनाए ।

त्यस्तै नवदुर्गा गाउँपालिका वडा नं.२ का लक्ष्मी दत भट्टले आफुले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि तरकारी विउ उत्पादन, मसलाबालीको खेती र कुखुरापालन गर्दै आएको बताईन् । शुरुमा २ पोकाबाट शुरु गरेको विउ उत्पादन पछिल्लो समयमा ५ सय पोकासम्म उत्पादन गर्ने गरेको उनले सुनाईन् । आफुले गरेको व्यवसायलाई मुल्याङ्कन गरी पुरस्कृत गरेकोमा उनले कृषि विकास निर्देशनालयलाई धन्यवाद दिए ।

त्यस्तै आलिताल गाउँपालिका वडा नं.७ का शोभा कुमारी वोहराले आफुले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफुलाई पुरस्कृत गरेकोमा निकै खुशी व्यक्त गरिन् । साथै आफुले गर्दै आएको व्यवसायबाट राम्रै आम्दानी भईरहेको उनले बताए ।

सम्बन्धित खवर

Back to top button