मुख्यमन्त्री शेरधन राईलाई दलितबाटै आयो बिहेको प्रस्ताव, यस्तो फर्काए जवाफ


खाेटाङ, १९ जेष्ठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन्। ‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो।
छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन्। कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्नेक्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिए।



‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ। यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ। उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ’, जिसस सदस्य विश्वकर्माले भने, ‘बरु कलिया (लमी) गर्न परे म आफै गरौंला।’ कार्यक्रममा सहभागी अन्य अतिथिले पनि जातीय विभेदको अन्त्य ‘आफू’बाट सुरु गर्नुपर्ने धारणा राखेका थिए।
नेकपा नेता विश्वकर्माको प्रस्तावपछि प्रदेशभर यो विषयमा चर्चा परिचर्चा सुरु भएको छ। जनजाति समुदायले विहे नितान्त व्यक्तिगत कुरा भएको र जनजाति पनि उपेक्षित जाति भएको भन्दै उपेक्षित जातिले तल्लो जातिसँग बिहे गर्दैमा समानता नहुने तर्क गरेका छन्। अर्कोतर्फ मुख्यमन्त्री राईले दलितकी छोरी बिहे गरेर छुवाछुतमुक्त समाज निर्माण अभियानको थालनी गर्नुपर्ने आवाज समेत उठेको छ। यसबारे मुख्यमन्त्री राईका तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन्।








