ग्याष्ट्रिकबाट कसरी जोगिने ?
–डा.अजित खनाल
काठमाडौं । खाद्य नलीले खाएको खानेकुरा पेटमा र्पुयाउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतिजन्य कुरा हो । एसिडको आफ्नै काम हुन्छ ।
खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसिडले गर्छ । तर, त्यही समयमा एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ । तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसिड बढी निस्कियो भने हुन्छ ।
एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुन्छ ।
कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ । चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ ।
कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ । ग्याष्ट्रिकको लक्षण भएको मान्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ । खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ ।
पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ ।
ग्याष्ट्रिकको लक्षण भएको मान्छे सजग हुन जरूरी छ ।
एसिड प्रोडक्सन बढी हुने कारणले पनि ग्याष्ट्रिक हुन्छ । हर्मोनको कारणले पनि ग्याष्ट्रिक हुन्छ । रक्सी खायो भने एसीड बढी निस्किन्छ जसले गर्दा ग्याष्ट्रिक गराउँछ । मुटुको रोगीले खाने कतिपय औषधिले पनि ग्याष्ट्रिक गराउँछ ।
धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दूध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ । चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ । त्यसैले चिल्लो कम खानुपर्छ ।
सन्तुलित भोजन जरूरी पर्छ
चिल्लो नखाने भन्दैमा सन्तुलित भोजन छोड्नु हुँदैन । पचास प्रतिशत कार्बोहाइड्रेट, पच्चीस प्रतिशत फ्याट, पच्चीस प्रतिशत प्रोटिन र त्यसमा मिनलरस् र भिटामिन पनि हुनुपर्छ । यसैलाई सन्तुलित भोजन भनिन्छ ।
चिल्लो खानु हुँदैन भनेर उमालेर खाने पनि गर्नु हुँदैन । अत्यधिक मात्रामा चिल्लो पदार्थ, बोसोयुक्त मासु र बंगुरको मासु खानु हुन्न ।
सन्तुलित भोजनमा चिल्लो पनि चाहिन्छ । चिल्लो खान हुँदैन भन्दैमा उमालेर खाने गर्नु हुँदैन । यस्तो गरेमा सन्तुलित भोजन हुँदैन । यसले दीर्घकालीन असर गर्छ ।
चिल्लो नखाने भन्दैमा अति गर्नु हुँदैन धेरै चिल्लो भएको खानेकुरा नखाए हुन्छ । चिल्लो नै खान हुँदैन भन्ने होइन ।
नेपालीमा बढी किन ग्याष्ट्रिक हुन्छ ?
अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ। अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन । जसले जे मन लाग्यो त्यही पकाएर बेचेको हुन्छ । पश्चिमा मुलुकहरूमा बजार अनुगमन राम्रो छ । नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यूउ प्रयोग हुन्छ। यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ ।
एक पटक प्रयोग गरेर रहेको तेल अर्को पटक पनि प्रयोग गरिन्छ र यो क्रम लामो समयसम्म चल्छ जसले गर्दा ग्याष्ट्रिक हुन्छ । धेरै तारेको खानेकुरा खाने कारणले पनि ग्याष्ट्रिक बढी हुने सम्भावना हुन्छ । सुर्ती, पान पराग गुट्खा बढी खानेलाई ग्याष्ट्रिक हुन्छ ।
यसको उपचार के हो ?
कतिपय ग्याष्ट्रिक सामान्य हुन्छ । कतिपय ग्याष्ट्रिक बिग्रिएर अल्सर भएको हुन्छ । अल्सर लामो समयसम्म उपचार नगरे रक्तश्राप भइरहन्छ । ग्याष्ट्रिक कुन चरणमा छ त्यसको उपचार पनि त्यसमा भरपर्छ ।
कसैको रक्तश्राप धेरै भइरहेको छ भने आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नुपर्छ । अल्सरका कारण रक्तश्राप भएको छ भने त्यसको उपचार छुट्टै किसिमले गर्नुपर्छ ।
सामान्य अल्सर छ भने त्यसको उपचार अलग्गै गर्नुपर्छ । एसीड प्रोडक्सन कम गर्ने औषधि पनि दिनुपर्छ । सामान्य खालको ग्याष्ट्रिक हो भने एसिड कम गर्ने औषधि केही समय खाएपछि आफैं ठीक हुन्छ ।
ग्याष्ट्रिकलाई लापरबाही गरे के हुन्छ ?
ग्याष्ट्रिकलाई लापरबाही र्गयो भने अल्सर हुन्छ र अल्सरका कारण अत्यधिक रक्तश्राप भएर मान्छेको शरीर नै जोखिममा पर्नसक्छ ।
आजभोलि त एसिड प्रोडक्सन गर्ने राम्रा–राम्रा औषधि समेत आइसकेको छ । विगतका दिनमा ग्याष्ट्रिकका कारण आन्द्रामा प्वाल परेर एकदम जोखीमपूर्ण्स्थिति उत्पन्न हुने गरेको थियो। सहर बजारमा त यसको औषधि हुन्थ्यो तर गाउँ–गाउँमा त आन्द्रामा प्वाल परेकै कारण पनि मान्छेको मृत्यु हुन्थ्यो ।
ग्याष्ट्रिकको लक्षण पेटको क्यान्सरसँग जोडिएको हुन्छ । ग्याष्ट्रिक भनेर हेलचेक्रयाइँ गर्दा त्यसले क्यान्सर समेत निम्त्याउँछ तर सामान्य उपचार गर्दा यो निको हुन्छ ।
कसरी जोगिने ?
ग्याष्ट्रिक हुन नदिन सन्तुलित भोजन गर्नुपर्छ । दिनमा धेरै पटक खानुपर्छ। हरियो साग तथा तरकारीहरू बढी खानु पर्छ । गाडेको अचार धेरै खान हुँदैन ।
सबैभन्दा खतरनाक त यतिबेला हुन्छ जतीबेला मान्छेले खानेकुरा बार्छ तर चुरोट खैनी सुर्ती र गुड्खा खान छोड्दैन । पेनकिलर औषधिहरू मनलाग्दी तरिकाले खायो भने त्यसले पनि ग्याष्ट्रिक गर्छ ।
ग्याष्ट्रिकको लक्षण छ भने विज्ञसँग छलफल गर्ने अनि उपचार गर्ने गर्नुपर्छ । ग्याष्ट्रिक कुन चरणमा छ भन्ने बुझ्न पनि उपचार गर्नुपर्छ ।
साभारः सेतोपाटी