अछामको मंगलसेनमा निशुल्क हाडजोर्नी अप्रेशन शिविर सञ्चालन हुँदै
काठमाडौं । सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको आयोजना र जिल्ला अस्पताल अछामको संलग्नतामा चैत्र ४ देखि ८ गतेसम्म अछाम जिल्ला मंगलसेनमा निशुल्क हाडजोर्नी अप्रेशन शिविर सञ्चालन हुने भएको छ ।
काठमाडौंमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी बलबहादुर रोकायाको पहलमा सञ्चालन हुन लागेको शिविरमा दुर्घटनाबस भाँचिन गई बाँङ्गो टिङ्गो भएको जोर्नीको अप्रेशनसँगै हाडजोर्नी अप्रेशनताका राखिएको स्टिल रड निकाल्न सकिने छ ।
उक्त शिविरमा दक्ष, अनुभवी तथा ख्यातिप्राप्त हाडजोर्नी विशेषज्ञ डा.निङमार शेर्पाको नेतृत्वमा अन्य डाक्टरहरूको समुहले सेवा प्रदान गर्नेछ । भौगोलिक विकटता र आर्थिक अभावका कारण उपचार गर्न नसकि शारिरीक अपाङ्गता भई जिवनयापन गर्न कठिनाइ व्यहोर्नुपरेका आफ्नो जिल्लावासीलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ शिविर आयोजना गर्न लागिएको जानकारी युवा बिद्यार्थी रोकायाले दिएका छन् ।
उनका अनुसार अस्पतालमा लाखौं रकमले गरिने अप्रेशन यतिखेर जिल्लामै निशुल्क गर्न लागिएकोले बढीभन्दा बढी लाभग्राहिले लाभ लिउन भन्ने भावले सरोकारवाला, पत्रकार, स्थानीय मिडिया र आम जिल्लावासीले बढिभन्दाबढी प्रचारप्रसार गरिदिन आग्रह गरेका छन् । काठमाडौंमा अध्ययनरत रोकाया अछामको रामारोशनका स्थानीय बासिन्दा हुन् ।