कुकुरले गर्यो खेतमा जिउँदै गाडिएको बच्चाको उद्धार
एजेन्सी । उत्तर थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ । पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए । पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो ।
स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे । त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताए । ’एउटा भुस्याहा कुकुर जसले मलाई आत्मसम्मान सिकायो’ पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो ।
उनलाई उद्धृत गर्दै खाओसोड पत्रिकाले लेखेको छ, “ऊ बफादार र आज्ञाकारी भएकाले मैले उसलाई पालेँ । म खेतमा गाईवस्तु चराउन जाँदा ऊ सधैँ मलाई सघाउँछ । पूरै गाउँले उसलाई माया गर्छ ।“ बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ । एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन् । उनले पछुतो मानेको प्रहरीले बताएको छ ।ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन् ।