धरानमा सञ्चारकर्मीमाथि सांघातिक आक्रमणः बाेलाइयो मिसन टोली


काठमाडाैं : धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमै सांघातिक अक्रमण भएको छ। गएराति धरान–१२ चतरालाइन स्थित अनलाइन टीभीमा काम गरिरहेका वेला अचानक आक्रमण भएको राईले जानकारी दिए। उनलाई अपरिचित ५–६ जनाको समूहले आक्रमण गरेको हो । राईको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ६ टाँका लगाइएको छ। राईलाई मंगलबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारपछि घर पठाइएको छ। राईलाई हमला गर्नेमध्ये एक फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। इप्रका धरानका डीएसपी ढुण्डीराज न्यौपानेले पक्राउ परेका शेर्पाको बयानसँगै थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
बोलाइयो मिसन टोली



यसैबीच जिल्लामा कार्यरत पत्रकारहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले केन्द्रबाट मिसन टोली बोलाएको छ। इटहरी उपमहागरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका पत्रकारलाई पटक–पटक धम्की दिनुका साथै धरानमा एक जना पत्रकारमाथि आक्रमण भएपछि मिसन टोली बोलाएको हो। पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार घटनाको यथार्थ बुझ्न केन्द्रीय कार्यालयबाट मिसन टोली बोलाइएको जानकारी दिए। इटहरीका दुई पत्रकारलाई दुर्व्यवहार गरेर माफी मागेको दुई साता नबित्दै चौधरीले मंगलबार अर्का पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्। मेयर चौधरीले पत्रकार अनुपमलाई फोनमा ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको’ भनी धम्की दिएको अडियो ‘भाइरल’ भएको छ। नेपाल पत्रकार महासंघ सुनसरीले मेयरको यस्तो क्रियाकलापप्रति आपीत्त जनाएको छ।
नाकको हड्डी भाँच्न मेयरले छुट्याए एक करोड
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई कुटपिटको धम्की दिएका छन् । पत्रकार विराट अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि यसबारे अनुपमले बुझ्न खोज्दा मेयर चौधरीले नाकको हड्डी भाँच्ने धम्की दिएका हुन् । ‘अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ,’ मेयर चौधरीले फोनमा धम्क्याउँदै भनेका छन् । मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए । ‘तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तिम्रो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,’ फोनमा मेयर चौधरीले भनेका छन्, ‘अब म गुन्डागर्दीमै उत्रिएँ । तिम्रो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।’