काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारको श्रम स्वीकृतिको व्यवस्था विदेशबाटै गर्ने व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवाले हरेक २ वर्षमा नेपाल आएर अनिवार्य रूपमा श्रम स्वीकृति गर्नुपर्ने यसअघिको प्रावधान छ । रोजगारीमा जानेहरूको अफ्ठेरोलाई मध्यनजर गर्दै अब विदेशबाटै श्रम स्वीकृति लिने व्यवस्था गर्ने तयारीमा गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
नेपाल आउनुपर्ने झन्झटका बारेमा गुनासो गर्नेको सङ्ख्या धेरै भएपछि सरकारले सम्वोधनको तयारी गरेको हो । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ मा विदेशस्थित कुटनीतिक नियोगमार्फत श्रम स्विकृति नवीकरणको व्यवस्था गरिएको विभागका निर्देशक एवम् सूचना अधिकारी भोलानाथ गुराँगाईले जानकारी दिए ।
विधेयक पारित भएर आइसकेपछि यसबारेमा नियमावली निर्माणको काम भइरहेको छ । यो व्यवस्था लागु भएमा अब कामदारले दुई पटकसम्म विदेशस्थित नेपाली दूतावास र नियोगबाटै पुनः श्रम स्वीकृती लिन पाउने छन् । सरकारले विदेशमा नै पुन श्रम स्विकृतीको व्यवस्थाका लागि दुइ वर्ष अघि नै गृहकार्य सुरु गरेको थियो ।