काठमाडौं : एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने ‘द बेटर इण्डिया’ ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले आखिर किन उनलाई खोजिरहेको छ? यसको आफ्नै कथा छ, यो कथा जोडिएको छ कीर्तिपुरको मच्छेगाउँदेखि लद्दाखसम्म। र, यो कथाका हिरो हुन् कीर्तिपुर नगरपालिका मच्छेगाउँ निवासी विधान श्रेष्ठ। आखिर भारतमा किन चर्चित भए विधान? यसको अन्तरकथा बुझ्न सन् २०१६ जुलाई ८ मा फर्किनुपर्छ। जतिबेला उनी भारतको लद्दाखमा घुम्न गएका थिए। काठमाडौंमा जन्मिए पनि उनमा शेर्पाहरुको जस्तै शोख छ। उनी हिमाल चढ्न मन पराउँछन्। उनको अर्को शोख समाज बुझ्न घुमिरहन्छन्। जब कलेजको छुट्टी हुन्छ तब उनी झोला बोकेर घुम्न निस्किहाल्छन्। कलेज छुट्टीको मौका पाउनासाथ उनी हिँडिहालन्छन् फकिरझैँ। उनले कलेज पढ्दा पढ्दै भारतका कयौँ स्थान छिचोले। तर उनको जिन्दगीको नयाँ मोड लद्दाखबाट सुरु भयो, यो अविस्मरणीय क्षण बन्यो।
उनी घुम्न जाँदा घरमा खबर गर्दैनन्। घरबाट थाहै नदिइ बेपत्ता हुने उनको साथी हो नेपालको राष्ट्रिय झण्डा। जब उनी राष्ट्रिय झण्डा साथमा बोकेर हिँड्छन् तब उनमा आत्मविश्वास बढ्छ। ‘झण्डाले देश सम्झाउँछ। देशको एउटा भूगोलमा मेरी आमा हुनुहुन्छ भन्ने महसुस गराउँछ। झण्डा साथमा बोकेर हिँड्दा मेरी आमा साथमै भए जस्तो लाग्छ।’ यूट्युवमा अभ्यस्त हुनुहुन्छ भने लद्दाखस्थित स्टोक ग्रांगी हिमालको भिडियो भेट्टाउनुहुन्छ। त्यो भिडियोमा एकजना घाइते युवकको अनुहारभरी रगत लत्पतिएको छ। निधारमा पट्टी बाँधिएको छ। त्यही भिडियोमा देखिएका अर्का युवा हुन् उनै विधान श्रेष्ठ।उनै विधानले घाइते भएका ती युवकको छातीमा मालिस गरिरहेका छन्। र, गाइरहेका छन्, ‘जहाँ छन् बुद्धका आँखा।’ स्टोक गांग्री हिमाल चढ्ने क्रममा उनले ५८०० मिटरमा पुगेपछि एक व्यक्तिलाई अर्धचेत भएको दुरबिनबाट देखे। त्यसपछि उनी उनै बेहोस व्यक्तितर्फ दौडिए। यतिमै रोकिएनन् विधान, रेसक्यु टिम बोलाएर ती घाइते युवकलाई अस्पतालसम्म पुर्याए। घाइते व्यक्ति थिए मुम्बई निवासी उत्सव हरिया। उत्सवलाई मालिस गर्दा उनले भक्तराज आचार्यको स्वरमा सजिएको यो गीत किन गाए होलान्?, जिज्ञासा स्वभाविक पनि हो। उनी भन्छन्, ‘मलाई यस्ता गीतहरू मन्त्र जस्ता लाग्छन्। मलाई यो गीतले मान्छेलाई जुनसुकै मोडमा पनि बाँच्न सिकाउँछ जस्तो लाग्छ।’ सहयोगका लागि प्रशस्त पैसा आवश्यक पर्छ भन्ने विश्वास उनी गर्दैनन्। ‘अरूलाई सहयोग गर्न पैसा नै खर्च गर्नुपर्दैन’, सहयोगी भावनाका उनी भन्छन्, ‘केबल सकारात्मक कर्म गर्नुस। कसैलाई देखाउन होइन, मनबाटै। कसैले देखेनन् भनेर चिन्ता नलिनुस, गुनासो नगर्नुस्, भगवानले देखिरहेका छन्।’
उनी मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन्। बैङलोरबाट हालसालै इन्जिनियरिङ पास गरे। उनी घुम्नुलाई समाजसँग जोडिनु हो भन्छन्। घुमघाम कला संस्कृतिको गहिरो अध्ययन पनि हो।किताब पढेर भन्दा कयौं गुणा बढी ज्ञान आर्जन घुमेर पाइने कुरामा उनी विश्वास गर्छन्। घुम्नु भनेको जिन्दगी बुझ्नु हो। हामी जति धेरै घुम्छौं व्यक्तित्व विकासमा उति धेरै सहयोग मिल्छ। ‘हामीले घुम्दा ती दृश्य देख्न र भोग्न पाउछौं, जुन पत्रकारका कलम र क्यामराले देखेको हुँदैन। कविको कल्पनाशक्ति पुग्न सकेको हुँदैन,’ उनी सुनाउँछन्, ‘समाज हामीले समाचारमा पढेको जस्तो कुरूप पनि हुँदैन र विशुद्ध सपाट पनि हुँदैन। समाजमा अनेक रंग हुन्छन्। मलाई यी रंगसँग मिस्सिन औधी मन पर्छ।’ मान्छे सोच्छन्, पैसा हुने मात्रै घुम्न सक्छन्। तर यो कुरालाई गलत भन्छन् विधान। उनी भन्छन्, ‘घुम्न पैसा होइन, आत्मविश्वास चाहिन्छ। हिँडेपछि मात्रै यात्रा सुरू हुन्छ।’
एमटिभी रोडिज यात्रा मुम्बईका उत्सवलाई बचाएपछि विधान रातारात भारतीय छापामाध्यममा ‘रियल हिरो’ भए। छापामाध्यमले उनलाई नेशनल हिरोका रूपमा चिनाएपछि उनीमाथि नजर लगायो एमटीभीले। एमटीभीले उनलाई सुरू हुन लागेको रोडिजको नयाँ सिजनमा आबद्ध गराउन कसरत गर्यो। तँ चिता म पुर्याउँछु भने जस्तै उनी चर्चित रियालिटी शो रोडिजको नयाँ सिरिजमा जोडिएका छन्। रोडिजको नयाँ सिजन एमटीभीले सुरू गर्न लागेको छ। आगामी महिनाबाट प्रसारण हुने रोडिजमा उनलाई देख्न सकिनेछ। एमटीभीको रोडिजमा पुग्न सानोतिनो बलले पुग्दैन। तर विधानलाई एमटीभीले खोजेर रोडिजको नयाँ सिरिजमा सहभागी गरायो। भारतीय मिडियाका नेशनल हिरोका लागि एमटीभीको रोडिज यात्रा हिमाल चढे जस्तो कठिन भएन। अहिले उनी रोडिजमा व्यस्त छन्। तर यात्रा कहाँसम्म पुग्यो? खुलाउन चहाँदैनन्, यो एमटीभीले बनाएको नियम पनि हो। ‘मैले राम्रै रोडिजमा राम्रै काम गरिरहेको छु’, उनले भने, ‘रोडिजका आफ्नै नियम छन्. जसले त्यहाँभित्र भइरहेको गतिविधिबारे मैले केही बताउन मिल्दैन।’
उत्सवसँग पुनर्मिलन विधानले उत्सवलाई लद्दाखमा मृत्युको मुखबाट बचाएर अस्पताल पुर्याए। त्यसलगत्तै उनी यात्रा बिट मार्दै बैंगलोरतिर हान्निए। तर, एउटा हुटहुटीले उनलाई लखेटिरह्यो। अस्पताल पुर्याइएका व्यक्ति बाँचे या मरे? उनको मनले उनैलाई सोधिरह्यो। गडबडी त कहाँ भयो भने उत्सवलाई बचाउने हतारमा रहेका उनले नाम र अरु विवरण लिनै भुले। तर उद्धार गरिएका व्यक्तिको पिरले मनमा भुइँचालो ल्याइरहेका बेला उनले एउटा जुक्ति निकाले। त्यो उपाय थियो आफूले खिचेको भिडियो फेसबुक र युट्युबमा अपलोड। उनमा विश्वास थियो, ‘यदि मैले बचाएको व्यक्ति जीवित रहेछन् भने पक्कै भिडियो हेर्नेछन्। उनले त्यही विश्वासका साथ भिडियो पोस्ट गरे फेसबुक र युट्युबमा। भिडियो भाइरल भयो। त्यसपछि मिडियाले उनलाई पछ्याए, ‘नेशनल हिरो’ भनेर कयौँ समाचार लेखे। भाइरल भएको भिडियो उत्सवसम्म पुग्यो। जो लद्दाखबाट उद्धार गरिएपछि दोस्रो जीवन पाएर उठिसकेका थिए। त्यसपछी दुवैले भेट गर्ने योजना बनाए। विधान उत्सवलाई भेट्न मुम्बई पुगे। उनी सम्झन्छन्, ‘मेरो उत्सवसँग भेट हुँदा खुशीको सीमा नै थिएन। उनको परिवारले मलाई गरेको आतिथ्यता र सत्कार कहिल्यै भुल्न सक्दिनँ।’
थाहाखबरबाट ।