चार घण्टामा १० अर्ब ३४ कराेड भुक्तानीः बजेट सक्ने चटाराे

काठमाडौं : सरकारको आयव्ययको विवरण राख्‍ने महालेखा नियन्त्रकको कार्यालयलाई आर्थिक वर्षको अन्तिम दिन आज भ्याइ नभ्याइ छ। महालेखा आफैँले चालु आर्थिक वर्षको भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई असार ३० सम्मको म्याद दिएको छ। तर आज ३१ गते उसैलाई रकम निकासा गर्न भ्याइनभ्याइ छ। महालेखाका अधिकारीहरु उक्त नियम आज लागू नहुने भन्दै धमाधम बजेट पठाइरहेका छन्।

‘हामीले चालु आर्थिक वर्षका लागि ३० गतेसम्म दिनुपर्ने भुक्तानी सकेर ३१ गते कमी-कमजोरी सच्याउन भनेका हौँ। यसरबाे हामीले परिपत्र नै गरेका थियौँ’, सहमहालेखा नियन्त्रक जगन्‍नाथ देवकोटाले थाहाखबरसँग भने, ‘तर हामीले निकासा रोक चाहिँ भनेका छैनौँ। सकिन्छ भने मात्रै गर्नु हो।’ यसको अर्थ पहिले खर्च गर्न सके गर्ने नभए अन्तिम दिन भए पनि लक्ष्यअनुसारको बजेट भुक्तानी गर्न कर्मचारीलाई भ्याइनभ्याई छ।

मंगलबार २ बजेसम्म अर्थात् चार घण्टाको कार्यालय समयावधिमा गरिएको खर्चलाई हेर्दा यसको पुष्टि हुन्छ। महालेखा नियन्त्रक कार्यालय स्रोतअनुसार २ बजेसम्म १० अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बराबरको खर्च भएको छ। जसमा तीन अर्ब २० करोड चालु खर्च रहेको छ। पुँजीगत खर्चको नाममा ६ अर्ब ९९ करोड भन्दा बढी निकासा गरिएको छ। ६ दिनअघिसम्म ७२ प्रतिशत खर्च गरेको सरकारले मंगलबार दिउसो २ बजेसम्मको अबधिमा ८३ प्रतिशत खर्च पुर्‍याएको छ। महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दिनेश रेग्मी भने अत्यावश्‍यक र गर्ने पर्ने काममको मात्रै भुक्तानी गरिएको बताउँछन्।

‘हामीले अत्यावश्‍यक काम र अहिले नै गर्नुपर्ने भुक्तानीको चेक समेत काटिरहेका छौँ,’ रेग्मीले भने। अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले चालु आर्थिक वर्षको अन्तिम दिन भएकाले बेलुका अबेरसम्म भुक्तानी गरिने बताए। ‘आज अन्तिम दिन हो। भुक्तानी गर्न बाँकी रहेको रकम सकेसम्म भुक्तानी गरिन्छ’ खत्रीले भने ‘बेलुका आठ-नौ बजेसम्म चेक काटिन्छ। कुनै किसिमको परिपत्र हामीबाट मातहत निकायलाई भएको छैन।’ थाहाखबरबाट ।

सम्बन्धित खवर

Back to top button