काठमाडौं : पार्कर खेलमा दुई पटक विश्वकीर्तिमान राख्न सफल भएका दिनेश सुनारले फेरि अर्को कीर्तिमानी थपेसँगै विश्वकीर्तिमानीमा ह्याट्रिक गरेका छन् । उनले पहिलोपटक सन् २०१७ मा ‘मोस्ट ट्वीस्टिङ ब्याक फ्लिप्स अफ अ वाल’ अन्तर्गत १ मिनेटमा १८ पटक भित्तामा टेकेर ३६० डिग्रीमा शरीर घुमाएर भुइँमा सन्तुलित भएर टेक्ने काम गरी गिनिस वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।
अहिले त्यही काम ३० सेकेण्डमा १२ पटक गरेर गिनिस वर्ल्ड रेकर्डमा नाम लेखाउन उनी सफल भए । त्यस्तै दोस्रो विश्व कीर्तिमान २०१८ मा पनि ३० सेकेण्डमा १६ पटक भित्तामा टेकेर उल्टी हानेको थिए । पार्कर अवरोध पार गर्ने साहसिक खेल हो, जुन विशेष गरी एक ठाउँबाट अर्को स्थानमा द्रुत गति र पेशेवर टेकनीकमा सुरक्षा कवजहरुको प्रयोगबिना खेल्ने गरिन्छ ।
फ्रान्समा १९८० को अन्त्यतिर विकास गरिएको पार्कर खेल इन्टरनेटको विकास भएसँगै १९९० को अन्त्य र २००० को दशकमा लोकप्रियता पाएको थियो । यद्यपि, यो खेल २०१२ मा दिनेशले परिचय नदिउन्जेल नेपालमा एलियन जस्तै थियो । दिनेशले नै नेपालमा यो खेल चिनाएका हुन् ।
खोटाङ्गमा जन्मिएका दिनेश सशस्त्र प्रहरीको खेलकुद शाखाको जिम्न्यास्टिक खेलाडी हुन् । जागिर खानका लागि जिम्न्यास्टिक गरेपनि उनले सानैदेखि देखाइरहेको कला पार्कर रहेछ भन्ने बुझेपछि दुवै खेल खेल्न थालेको उनी बताउँछन । जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिताबाट उनले तीन वटा स्वर्ण पदक जितिसकेका छन् । गएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनी फ्लोर जिम्न्यास्टिकमा दोस्रो भएका थिए ।
दोस्रोपटक विश्व कीर्तिमान बनाएपछि उनी अमेरिकामा वर्ल्ड फ्री रनिङ एण्ड पार्कर फेडेरेसन (डब्लूपीएफएफ) को स्पोन्सर खेलाडीका रुपमा गएका थिए । उनी पार्कर विश्वकपमा नेपालबाट पहिलोपटक सहभागी हुन पाए । सन् २०१८ मा भएको त्यो विश्वकपमा उनी १०औँ स्थानमा आएको थिए । जसले नेपालमा पनि पार्कर खेल्छन् र खेलाडीहरु राम्रा छन् भनेर चिनाएको थियो ।
अभ्यास गर्ने सुरक्षित ठाउँ नहुँदानहुँदै पनि आफ्नो देशलाइ पार्कर खेलमार्फत चिनाउन उनी थाकेका छैनन् । सरकारको तर्फबाट पनि यस खेलबारे चासो दिइएको छैन । यहाँको अवस्था देख्दा दिनेशलाई बेलाबेला दिक्क लाग्ने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘पार्करका प्रायः प्रतियोगिता युरोप तथा अमेरिकामा हुन्छ । त्यहाँ पुग्नै सकस छ । टालटुल गर्दै परिवार चलाउनु परेको छ अनि आफ्नो बलबुताले युरोप पुग्न कहाँबाट पैसा जुटाउनु । घरबाट पनि पैसा कमाएन भन्ने गुनासो भइरहन्छ । त्यसैले विदेश पलायन नै होउँ कि जस्तो पनि लाग्छ ।’
त्यैपनि दिनेश आफ्नो देशको लागि लडिरहेका छन्, गरिरहेका छन् । देशलाई विश्वसामु चिनाउन अन्तिम साससम्म लागि रहने उनको इच्छा छ । उनलाई सहायता र हौसला गर्ने उनका शुभचिन्तक, दाजुभाइ, दिदीबहिनी, इष्टमित्रप्रति उनी आभारी रहेको बताउँछन् ।
हेर्नुस् भिडियाे