दलितसँग विहे गरेकै कारण बुवाकाे किरिया बस्न पाएनन् छाेराले

धनकुटा : हाम्राे नेपाली समाज अझै कति पछाडि छ भन्ने एक उदाहरण हाे दलितसँग विहे गरेकै कारण आफ्नै बुवाकाे काज किरिया गर्न नपाएकाे घटना । साहित्यकार मुकुन्द सुवेदी ‘प्रयास’लाई दलितको छोरीसँग विवाह गरेको बहानामा संगै बसेर बाबुको काजकिरिया गर्नबाट वञ्चित गरिएको छ। पाख्रिवास–७ थाक्लेका यज्ञप्रसाद सुवेदीको साउन २२ गते ८८ वर्षको उमेरमा निधन भएको थियो। एउटै बाबुका सन्तान भए दपनि उनका दाजुभाई पुख्यौंली घरमै किरियामा बसे। धनकुटाको पाख्रिबास नगरपालिका–७ थाक्ले घर भई हाल धनकुटा–७ डाँडागाउँ बस्दै आएका सुवेदी आफ्नै घरमा किरिया बसेका छन्।

पुख्यौली घरमा सुवेदीका जेठा दाजु गोविन्द सुवेदी, माइला दाजु दुर्गा सुवेदी, साईंलो दाजु चन्द्रमणी सुवेदी किरियामा बसेका छन्। कान्छा छोरा मुकुन्द सुवेदीलाई भने दलित महिला विवाह गरेको भन्दै सामुहिक किरिया बस्न नदिइएको हो। अरु बेला परिवारमा भइरहने कार्जेमा सहभागी हुँदा भेदभाव नगरे पनि किरिया बस्ने विषयमा आफूलाई दलितकी छोरीसँग विवाह गरेको बहानामा दाजुहरुसँगै बस्न नदिएको उनले बताए।

आमा र ३ दाजुहरुले थाक्लेमा १३ दिने संस्कार गरिरहेका छन्। भने मुकुन्द पनि कपाल खौरिएर सामान्य कपडा लगाएर बाबुको शोक बारिरहेका छन्। मृत्यू अघि बैतणीलगायत संस्कारमा गरिने र अन्त्येष्टी कर्ममा सहभागी भए पनि १३ दिने संस्कारमा आफूलाई विभेद गरिएको उनको गुनासो छ।

सुवेदी साहित्यकार एवं कलाकार पनि हुन्। धनकुटा बजारमा उनको आर्ट सेन्टर छ। एक झोला इन्द्रेणी कविता कृति समेत प्रकाशन गरेका छन्। जातीय विभेदविरुद्ध धेरै कलम चलाएका व्यक्ति पनि हुन् उनी। २२ गते गाउँकै भुपेन्द्र थापाले फोन गरेर बुबा वितेको खवर सुनाएको मुकुन्दले बताए। छिमेकी थापाले फोनमा कुरा गर्दै अत्येष्टीका लागि उतै मुलघाट ल्याउने भन्दै यता नआउन भनेर सुझाएको उनको भनाई छ। ‘घाटमा पुगेपछि दाजुहरुले केही सल्लाह गर्लान् भनेर केहि भनिनँ’, उनले भने, ‘काका र वडाबाको छोरामार्फत धनकुटामा एक्लै किरिया बस्नुपर्ने कुरा सुने। दाजुहरुसँग कुरा गर्न खोज्दा पछि फोनमा कुरा गर्ने बताए।’

मुकुन्दले धनकुटा–१० वेलहराकी मैया रसाइलीसँग २०५३ सालमा अन्तरजातीय विवाह गरेका हुन्। उनीहरुको एक छोरा रसुम सुवेदी छन्। विवाह गरेको लामो समयसम्म उनी घर गएका थिएनन्। तर २०६१ साल पहिलो पटक परिवारसहित उनी पुख्यौंली घर पुगेका थिए। त्यसयता उनीहरु र परिवारबीच नियमित आउजाउ भइरहन्थ्यो। ‘घर पुग्दा कुनै विभेद थिएन। दुःखसुखमा परिवारका सदस्यबीच एकआपसमा सरसल्लाह हुन्थ्यो’, उनले भने, ‘मैले यस्तो हुन्छ होला भनेर कल्पनै गरेको थिइनँ।’ अन्नपूर्ण पाेष्टबाट ।

सम्बन्धित खवर

Back to top button