एक्कासी दूधको मूल्य बढ्यो


काठमाडौं : सरकारले शनिबारबाट लागू हुने गरी दूधको मूल्य बढाएको छ । दुग्ध विकास संस्थानले उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा अब प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको जनाएको छ । मूल्य बढेपछी उपभोक्ताले भने अब एक लिटरको दूधको लागि ७६ रुपैयाँ तिर्नु पर्ने छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको दुग्ध विकास संस्थानले जनाएको छ ।



सरकारले गत २९ साउनमा दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
अब बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् ।