यसवर्ष सुदूरपश्चिमकै प्रसिद्ध बिसु जाँत नहुने


डडेल्धुरा, २६ चैत : डडेल्धुराको अमरगढी नगरपालिका– ३ डोटी खोलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा वैशाख २ गते लाग्ने बिसु जाँत यसवर्ष नहुने भएको छ।
प्रतेक बर्ष नयाँ वर्षको दोस्रो दिन घटाल थानमा लाग्ने बिसु जाँत यसवर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार घटना क्षेत्र विकास समाज र घटाल देवताका चारथरी कारिन्दाहरूले मेला स्थगित गर्ने निर्णय गरेका हुन्।



विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन मेला स्थगित गरिएको घटना क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि भिडभाडका साथ मेला नमनाउन आग्रह गरिसकेकोले विसु जाँत यसवर्ष नहुने उनको भनाइ छ ।
बिसु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १० र १२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयले बताउने गरेका छन् ।
घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन अहिले पनि रहिआएको छ ।