डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन सुरु

डडेल्धुरा, १० बैशाख : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन सुदूरपश्चिम प्रदेशको मध्य भागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

संघीय सरकार मातहतको बिषेश विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना हुँदा यहाँका पहाडी जिल्लाका लागि समेत सहज हुने भन्दै यहाको स्थानिय निकायले गरेको पहल पछि बल्ल विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाईरोलोजिष्ट डा.श्रवणकुमार मिश्र नेतृत्वको टोलीले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन । उनको प्रतिवेदन मन्त्रालयमा पेश भए पछि डडेल्धुरामा प्रयोगशाला निर्माणको काम सुरु हुनेछ ।

संघीय सरकारले सुदूरपश्चिमको मध्य भागमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने योजना अनुुरुप अध्ययन सुरु गरिएको अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालको क्षमताका आधारमा प्रयोगशाला स्थापना जरुरी रहेको र प्रयोगशाला भएमा अन्य सेवाका लागि समेत सहजता हुने डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुषालले बताए ।

अस्पतालमा पिसिआर ल्याब स्थापना भए पछि सुदूरपश्चिमका पहाडी जिल्लावासीका लागि उपचारमा निकै सहजता हुने र अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरुले समेत काम गर्न सक्ने उनले बताए । प्रयोगशाला स्थापना गर्न सके कोरोनाको मात्रै नभई अन्य मलिकुलर चेकजाँचका लागि समेत सजिलो हुने ल्याब इन्चार्ज भुषालको भनाई छ ।

डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि स्थानिय सरकारले संघिय सरकार संग समन्वय गरिरहेको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।

सम्बन्धित खवर

Back to top button