डडेल्धुराका महिला काफल बेचेर घर खर्च चलाउँदै


डडेल्धुरा, ४ जेठ : डडेल्धुराका महिलाका लागि काफल राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । जेठ महिना सुरू भएसँगै अहिले डडेल्धुरा सदरमुकाममा काफलको व्यापार बढेको छ । काफल पाक्न सुरू भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाइने क्षेत्रमा यसको व्यापार बढ्न थालेको स्थानीय बताउँछन् । वृृद्धदेखि बालबालिका किलोको ८० रूपैयाँका दरले काफल बिक्री गरिरहेका छन् ।
काफल हुने अधिकांश क्षेत्रमा काफल पाकिनसकेकाले यो समयमा राम्रो मूल्य पाइने गरेको अमरगढी नगरपालिका-४ हरडीका लक्ष्मीदेवीले बताइन् । गत वर्षभन्दा यो पटक कोरोनाले गर्दा काफलबाट सोचे जस्तो राम्रो आम्दानी भने नभएको उनले बताइन् ।



लकडाउनको समयमा काफल बेच्न सदरमुकाम आउन धेरैले रोक लगाए पनि दैनिकी चलाउनकै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । काफल पाक्न सुरू भएसँगै यी क्षेत्रका महिला र बालबालिकाहरू काफल टिपिरहेका र बेचिरहेका भेटिन्थे भने यो समयमा बजार बन्द भएकोले चहलपहल शून्य जस्तै छ ।
एकातिर कोरोना भाइरस (कोभिड-१९) ले गर्दा अहिले सिङ्गो देश लकडाउनले काफल बेचेर गुजारा गर्नेलाई पनि असर पुर्याएको छ । दिउँसो भरी काफल टिपेर दोस्रो दिन बिहानै जिल्ला सदरमुकाममा बिक्री गर्न आउने गरेको स्थानीय गौरी विष्टले बताइन् । उनले पनि लकडाउनका कारण विगतभन्दा यो वर्ष काफल बिक्री गर्न समस्या भइरहेको बताइन् ।
‘काफल बिक्री गरेर साँझबिहानको छाक टार्छौँ । जंगलमा राताम्ये भएर काफल पोकेका छन् । लकडाउनले घरमै भोकभोकै बस्नु भन्दा काफल टिपेर बिक्री गर्न आउँछौँ’ उनले भनिन्, ‘दैनिक ४/५ सयको जति बिक्री गर्छु । र, यसैबाट छोराछारीको लागि कापिकलम किन्छु ।’
विगतमा जिल्ला सदरमुकाममा काफल किनबेच गर्नेहरूको भिड लाग्ने गरेको भएपनि यसवर्ष भने सुनसान रहेको स्थानीय व्यापारी रोशना सेठिले बताइन् । विहान र साँझको समयमा लकडाउन खुकुलो हुने भएकाले काफल बिक्री गर्न गाउँबाट स्थानीयहरू जिल्ला सदरमुकाम पुग्ने गरेको उनको भनाइ छ ।
‘पतिकिलो ८० रूपैयाँमा काफल खरिद गरेर हामी १ सयामा बेच्दै आएका छौँ । तर, यो वर्ष लकडाउनले सोचे जस्तो काफल बिक्री गर्न सकेका छैनौँ’ उनले भनिन्, ‘यो सिजनमा काफल यस क्षेत्रका विद्यार्थी र महिलाका लागि राम्रो आम्दानीको स्रोत हुन्थ्यो । तर, यो पटक कोरोना भाइरसले समस्या पारेको छ ।’