बझाङमा एउटै आयोजनाका लागि अलगअलग शिर्षकमा बजेट विनियोजन
बझाङ, ४ जेठ : बझाङमा एउटै आयोजनाका लागि २ शिर्षकमा बजेट विनियोजन गरेको पाइएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीमा एउटै आयोजनाको नाममा अलगअलग शीर्षकमा बजेट विनियोजन गरेको पाइएको हो । एउटै आयोजनाको नाममा फरकफरक शीर्षकमा बजेट छुट्याएको पाइएपछि अहिले त्यहाँका जनप्रतिनिधिको चर्को आलोचना सुरू भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ बुडखोरीमा पर्ने एउटा मन्दिर तथा त्यहाँ जाने बाटो निर्माणका लागि २ शीर्षक बनाएर २५ लाख छुट्याइएको पाइएपछि आलोचना सुरू भएको हो । वडाले सार्वजनिक गरेको आयोजनाको सूचीमा उल्लेख गरेअनुसार बासुधारा मन्दिर तथा बाटो निर्माणका लागि १० लागि रुपैयाँ बजेट छुट्याइएको छ ।
त्यस्तै, ‘बासुधारा पर्यटकीय पैदलमार्ग निर्माण’ शीर्षकमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अहिलेसम्म १० लाखको बजेटको काम सकिएर १५ लाखको आयोजनाको काम सुरू भएको छ । वडाले उपभोक्ता समिति गठनका लागि आह्वान गरिएको सूचना बाहिर आएपछि सामाजिक सञ्जालमा अहिले विभिन्न टीका-टिप्पणी भइरहेको छ ।
त्यहाँका कतिपय स्थानीयले आर्थिक अनियमितताका लागि जनप्रतिनिधिले यस्तो काम गरेको आरोप समेत लगाएका छन् । स्थानीयको चर्चो आलोचना संगै वडाध्यक्ष पदम मण्डेलले ति आयोजनाका लागि वडाबाट बजेट नछुट्याइएको बताए । ‘ति दुबै आयोजनाका लागि वडाबाट बजेट विनियोजन नभएको र ‘मन्दिरको भवन निर्माण र बाटोका लागि १० लाख गाउँपालिकाबाट र १५ लाखको आयोजना सांसद विकास कोषबाट आएको उनको भनाइ छ ।