धनगढीमा कुहिएको चामल प्रकरण : उप–महानगरपालिकाले छानविन प्रतिवेदन बुझ्न मानेनन्

धनगढी, ५ जेठ : धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले पाँच दिन लगाएर प्रतिवेदन तयार पारेको हो।

तीन दिनको समय सीमा दिईएको भएपनि समितिले छानविन र अनुगमन तथा सम्बद्धहरुको वयानमा पाँच दिन लगाएको हो। दुईदिन ढिलो गरी प्रतिवेदन तयार पारिएको भएपनि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरणमा भने ढिलाई भएको छ। यसअघि उप महानगरपालिका मेयर नृप ओडको समय व्यवस्तता कारण प्रतिवेदन बुझाउन ढिलाई भएको भनिए पनि आज मेयर, उपमेयरले प्रतिवेदन बुझ्न नमान्दा समस्या भएको छानविन समितिले जनाएको छ।

छानविन समितिका संयोजक मुरारी अधिकारीले आज मेयर र उप–मेयरसंग छलफल भएपनि प्रतिवेदन बुझ्न नमानेको बताए। ‘मेयरलाई प्रतिवेदन बुझाउनका लागि दिनभरी पर्खिएका थियौँ। पछि छलफल गर्दा उहाँहरुले कार्यपालिक बैठकमै बुझाउनु होला भन्नुभयो।’ अधिकारीले दिनेश खवरलाई भने।

उनले भोली दिउसो कार्यपालिका बैठक बोलाईएकाले बैठकमा प्रतिवेदन बुझाउने जानकारी दिए। सार्वजनिक नगरिएको प्रतिवेदनमा समितिले खाद्यान्न आपूर्तिकर्तालाई हदैसम्मको कारवाही गर्न सुझाव दिएको समाचार स्रोतले जनाएको छ। तर उप–महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकै संग्लनतामा ठेक्का भएको विषयलाई भने छानविन समितिले पनि ढाकछोप गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९५ कट्टा र वडा नम्बर २ मा एक कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ। धनगढी उप–महनगरपालिकाले दुई करोड ६१ लाखमा चामल लगायतको सामान खरिदका लागि धनगढीकै ठाकुर ट्रेडसंग ठेक्का सम्झौता गरेको थियो।

सम्बन्धित खवर

Back to top button