गन्तव्य पुगाउने व्यवस्था भए भारतको पलियामा अलपत्रको उद्धार गर्न तयार छौँ : कैलालीका प्रजिअ बोहरा

धनगढी, ७ जेठ : जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था भए भारतमा रहेका अलपत्र नेपालीको उद्धार गर्न तयार रहेको बताएको छ। दुई दिन पलिया र रामपुर क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिसकेको प्रशासनले सीमा नाकामा ¥यापिड टेस्टसंगै गन्तव्य पुगाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था भए फेरी उद्धार गर्न तयार रहेको जनाएको हो।

दुई दिन गौरीफन्टा नाकाबाट उद्धार भएपछि अहिले पलिया क्षेत्रमा मात्रै डेढ हजार बढि नेपालीहरु नेपाल प्रवेशको अनुमती पर्खिरहेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्धार गरेपछि सम्बन्धित पालिकासम्म पुगाउनका लागि प्रशासन एक्लैले नसक्ने भएकाले प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको खाँचो रहेको बताए।

‘सीमामा ¥यापिड टेस्ट गराएर उनीहरुलाई सम्बन्धित पालिका सम्म पुगाउने जिम्मा स्थानीय र प्रदेश सरकारले लिनुपर्छ। हामी अलपत्र नेपालीको उद्धार गर्न तयार छौँ।’ प्रमुख जिल्ला अधिकारी बोहराले भने।

उनले उद्धारमा भन्दा पनि सीमा वारि पुगिसकेपछि गन्तव्यमा पठाउन समस्या रहेको बताए। दुई दिनसम्म नौँ सय ५० जनाको उद्धार गरकोे प्रशासनले उनीहरुलाई गन्तव्यमा पठाउन निकै समस्या झेल्नु परेको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले व्यापारी र संघसंस्थाहरुसंग सहयोगका लागि याचना गरेपछि मात्रै उनीहरुलाई गन्तव्यसम्म पठाईएको बताए।

‘भारतबाट फर्किएका नेपालीहरुसंग धनगढीबाट घर सम्म पुग्ने भाडा पनि थिएन। व्यपारीहरुसंग सहयोग मागेर हामीले भाडा र खाना नास्ताको व्यवस्था गरेका थियौँ। तर सधै व्यापारीहरुसंग कति सहयोग माग्नु। प्रदेश र स्थानीय सरकारले समन्वय गरे सहज हुने थियो।’ सूचना अधिकारी जोशीले भने।

सम्बन्धित खवर

Back to top button