डोटीमा मिनीट्रक दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

डोटी, ८ जेठ : डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान डोटी बोगटान गाउँपालिका–७ मा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्।

जिल्लाको बोगटान गाउँपालिका–७ मा निर्माणाधीन मौरासेन सेती हाइड्रो पावरका कामदार लिएर आउँदै गरेको बा२क २७३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहेका बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका– ५, बयलपुरका चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन्।

उनीहरूमध्ये निर्माण व्यवसायी मल्लको दाहिने खुट्टा भाँचिएको छ भने छातीमा गम्भीर चोट लागेको छ। यस्तै, भारतीय नागरिक सिंहको अवस्था पनि गम्भीर छ। उनको बाँया खुट्टा, टाउको र छातीमा चोट लागेको छ।

घाइतेहरूको डोटीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि अन्यत्र लगिने भएको छ। घाइतेहरूलाई लैजान हेलिकोप्टर आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button