लकडाउनको मौका छोपी बझाङमा व्यापक वन फडानी हुदै


बझाङ, ११ जेठ : बझाङमा लकडाउनको मौका छोपी अबैध तरिकाले व्यापक वन फडानीका साथै एक सामुदायिक वनले अर्को सामुदायिक वनको क्षेत्र भित्रको पुर्जी जारी गरिदिएको पाइएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीको सेरीनिसान जलजला बासुधारा सामुदायिक वनमा अबैध तरिकाले वन फडानी भएको पाइएको हो।
वनको उपभोक्ता समितिले लामो समयदेखि पूर्णरूपमा आलोकाचो दाउरा, काठ कटानी तथा वनलाई क्षति पुयाउने सबै काम बन्द गरेको भए पनि अबैध तरिकाले धमाधम काठ चिरानी भइरहेको स्थानीयले बताएका छन्। सो सामुदायिक वनका सचिव भरत धामीका अनुसार विगतमा रूख काटेको देखिए पनि मान्छे भेटिँदैन थिए। तर, यो पटक भने जंगल फडानी गरिरहेका व्यक्ति र वनका पदाधिकारीबीच जम्का भेट भएको छ।



‘हाम्रो वनभित्र यो भन्दा अगाडि पनि थुप्रै रूख खाटेको पाइन्थो। तर, हेर्न आउँदा मान्छे हुँदैन थिए’, सचिव धामीले भने, ‘यो पटक भने काठ तस्कर गर्दा जम्काभेट हुन पुग्यो।’ उनका अनुसार काठ तस्कर गरिरहेकासँग सोधपुछ गर्दा उनीहरूले छिमेकी वन तिखाउडी चाल्लेर्खक सामुदायिक वन उपभोक्ता समूहले पुर्जी दिएर यस्तो काम गर्न लगाएको बताएका छन्।
‘हामीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा तिखाउडी चाल्लेखर्क सामुदायिक वन उपभोक्ता समूहले आफ्नो पूर्जी दिएर छबिसपाथिभेरा गाउँपालिका–५, थलाराका बासिन्दालाई काठ चिरानीमा प्रयोग गरेको पाइयो’ सचिव धामीले भने।
वन फाडनीमा संग्लनले ठूलो मात्रमा बहुमूल्य रूख फडानी गरेका उनले बताए। सचिव धामीका अनुसार अबैध तरिकाले वन फडानी गरेकाले त्यसमा संग्लन र पूर्जी जारी गर्ने्विरुद्ध मुद्दा हाल्ने तयारीसमेत भएको जानकारी दिए।
यता जिल्ला डिभिजन वन कार्यालय बझाङले पनि एक सामुदायिक वनले अर्को सामुदायिक वनलाई पुर्जी काट्न नमिल्ने बताएको छ। ‘एक सामुदायिक वनले अर्को सामुदायिक वनको पुर्जी काट्न मिल्दैन’, वन कार्यालय प्रमुख कर्णबहादुर खातीले भने, ‘यसरी अबैधरूपमा वन फडानी गरेको भए सग्ल्न व्यक्तिलाई कारवाही हुन्छ।’








