जन्ती बनेर गएका अर्का एक युवक मृत भेटिए


जाजरकोट, १३ जेठ : साथीको जन्ती बनेर पश्चिम रुकमुको चौरजहारी नगरपालिका–८, सोती पुगेका अर्का एक युवक मृत भेटिएका छन् ।
भेरी नगरपालिका–४ का अन्दाजी १९ वर्षीय गणेश बुढा मगरको शव भेरी नरपालिका–१० फेराघाट नजिकै फेला परेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।



शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोट लगिएको छ।
भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव यसअघि भेरी नदीमा भेटिइसकेको थियो।
अझै तीनजना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न गत शनिबार (१० वैशाख) प्रेमी नवराज विक सहित १८ जना युवाहरु प्रेमिकाको घर सोति पुगेका थिए । मल्ल थरकी १७ वर्षीया किशोरीलाई ‘भगाउन’ आएको थाहा पाएपछि अभिभावकसहित वडा अध्यक्ष डम्बरबहादुर मल्लसमेतका गाउँलेहरुले कुटपिट गरि लखेटेको सम्पर्कमा आएका एक युवाले बताए ।
कुटपिटबाट घटनास्थलमै प्रेमी नवराजको ज्यान गएको ती युवाले बताए । उनले भने, “भागेर नदीमा पौडी खेल्दाखेल्दै माथिबाट ढुङ्गाले हानेर नवराजलाई मारिदिए त्यसपछि ज्यान बचाउन हामीहरु पाखातिर भाग्यौं ।”
हताहती भएर भागेका मध्य १२ जनालाई इलाका प्रहरी कार्यालय, चौरजहारीले जाजरकोट प्रहरीको जिम्मा लगाएको छ।
उक्त घटनामा परेर सम्पर्कविहीन भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक रहेका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।
घटनाको अनुसन्धानको क्रममा नवराज यसअघि पनि आफ्ना दुईजना साथीसहित प्रेमिकाकालाई ‘भगाउने’ भनेर उनको घर पुगेको खुलेको छ । त्यतिबेला आफन्तले प्रहरीको जिम्मा लगाएका थिए। एकरात इलाका प्रहरी कार्याय चौरजहारीको हिरासतमा बसेका उनीहरू भोलिपल्ट वडाध्यक्ष डम्बबहादुर मल्लको रोहवरमा छुटेका थिए।
त्यसपछि पनि प्रेमिकाले विवाहका लागि दबाब दिएपछि नवराज थप १७ जना साथीलाई लिएर १० जेठमा उनको गाउँ पुगेका थिए।
चारैतिरबाट दबाब आउन थालेपछि आफ्नो गल्ती ढाकछोप गर्न उता किशोरीका आफन्तले भने नवराजको समूह आफूहरूलाई आक्रमण गर्ने उद्देश्यले आएको आरोप लगाएका छन्। युवाहरूको समूह आक्रमणको योजनासहित आएपछि गाउँलेले प्रतिकार गरेको उनीहरूको भनाइ छ।








