उपचारका लागि अस्पताल पुगेका काेराेना संक्रमित विरामी रातभर अस्पतालको गेटबाहिर


इटहरी, १७ जेठ : काेराेना भाइरसबाट संक्रमित भएकाहरु आइसाेलेसनमा बस्नु पर्नेमा अस्पताल गेट छेउकाे सडक बसनु परेकाे गुनासाे गरेका छन् । शुक्रबार झापाको कचनकवलमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुले साेही राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा रातभर सडकमै बस्नुपरेको हाे ।
प्रतिष्ठान प्रशासनले समन्वय नै नभएको भन्दै २७ जना कोरोना संक्रमितलाई शनिवार बिहानसम्म अस्पतालको गेटमै राखेको हो । दिसा, पिसाव गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै खुला चौरमा उनीहरु बस्न बाध्य भए । सङ्क्रमितहरु प्रतिष्ठानको पेइङ ब्लक (जहाँ कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसनको पार्किङ एरिया) मा रातभर बसेका हुन् । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् ।



शनिबार बिहान प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठानमा आएपछि मात्रै संक्रमितहरुको सोधखोजमा प्रतिष्ठानका कर्मचारीहरु लागेका थिए । मन्त्रीले घटनाबारे सोधखोज गरेपछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा लैजान थालिएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन्। अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्रै भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए । तर बिहीबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका प्रतिनिधिसँग प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफल गरेका थिए ।
छलफलका क्रममा उपकुलपति डा. गिरीले २ सय बेड भएको र त्यसमा ५० बेड खाली रहेको बताएका थिए । मन्त्रीले भने ‘ठूलो लापरवाही भयो’ । संक्रमितहरुलाई रातभर अस्पताल बाहिर राखेकोमा प्रदेश एकका सामाजिक विकासमन्त्रीले प्रतिष्ठानमा असन्तुष्टि व्यक्त गरे। पत्रकारको प्रश्नमा मन्त्रीले घिमिरेले अस्पतालले बिरामी भर्ना नगरेर ठूलो लापरवाही गरेको बताए ।
घिमिरेले यस्तो गतिविधि नदोहोर्उन पदाधिकारीहरुलाई कडा निर्देशन दिएको पनि बताए । घिमिरेका अनुसार झापाबाट संक्रमितलाई धरान पठाउनुअघि मन्त्रालयबाट फोकल पर्सनलाई सूचना दिइएको थियो। ‘रिपोटिङ गर्दा २ सय बेड तयार छ भन्ने तर सेवा गर्नु पर्दा सबै भागाभाग गर्ने?,’मन्त्री घिमिरेले भने,‘म आएपछि मात्रै विभाग प्रमुख, अस्पताल प्रमुख, भिसी आउने काम भयो। के कारणले यस्तो भयो, अब फेरि हुनुहुँदैन भनेको छु।’







