राजधानीबाट आएको बस छोएपछि १४ दिन क्वारेन्टीनमा

अछाम, १८ जेठ : विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको बेला जिल्ला बाहिर र मुलुक बाहिरबाट भित्रिएकाहरूलाई क्वारेन्टीनमा राखिएको कुरा नौलो होइन तर अछाममा काठमाडौँबाट आएको बसको सम्पर्कमा आएका ६ जनाले क्वारेन्टाइनमा बस्न पर्ने भएको हो ।

काठमाडौँबाट आएको बसको हुटमा रहेको मोटरसाइकल झार्ने ६ जनालाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिने भएको हो । क्वारेन्टीनमा बस्नपर्ने भएकाहरूमा शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी लगायत रहेका छन् ।

धेरै ठाउँमा मुलुक बाहिर र अन्य ठाउँबाट आएकाहरू क्वारेन्टीनमा बस्न नमानेको, क्वारेन्टाइनबाटै भागेको खबर आइरहेका बेला अछाममा भने जिल्ला बाहिरबाट आएको गाडीलाई छोएपछि कोरोना संक्रमणको डर हुनसक्ने भन्दै क्वारेन्टीन राखिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलिन नदिन गरिएको लकडाउनका कारण काठमाडौँमा लामो समयदेखि बसिरहेका केही विद्यार्थीहरू शुक्रबार गृहजिल्ला अछाम फर्किएका थिए । अछाम मंगलसेन नगरपालिका – ६ का ती विद्यार्थीहरू चढेको बसमा रहेका मध्यका एकजनाको मोटरसाइकल अर्को बसमा राखिएको र आफू चढेको बस अलि पछाडि नै छुटेपछि उनले घरमा फोन गरेर मोटरसाइकल रिसिभ गर्न भनेका थिए ।

बसको हुटमा राखिएको उक्त मोटरसाइकललाई स्थानीय आफन्तहरूले झारेका थिए । मोटरसाइकल झारेसँगै उनीहरू काठमाडौंबाट भित्रिएको गाडीको सम्पर्कमा आएको भन्दै क्वारेन्टाइनमा बस्न केही स्थानीयले दबाब दिएपछि वडाले उनीहरूलाई सेल्फ क्वारेन्टीनमा बसालेको हो ।

गाडीको सम्पर्कमा आएकाहरूले भने आफूहरूले गाडीको सम्पर्कमा आउँदा गल्ब्स र मास्क लगाएको साथै मोटरसाइकल झारेसँगै सेनिटाइजर समेत प्रयोग गरेको बताएका छन् ।

सम्बन्धित खवर

Back to top button