डडेल्धुराका पहिलो कोरोना संक्रमित १० दिनमै निको भई घर फर्के


डडेल्धुरा, १९ जेठ : डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेर घर फर्किएका छन्। जिल्लाको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले १० दिनमै कोरोना जितेर घर फर्किएका हुन्।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई सोमबार दिउँसो डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले जानकारी दिए।



डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन्। उनलाई दुई साता अलग्गै बस्न डा विष्टले सुझाव दिएका छन्। जिल्ला सदरमुकाममा बस्दै आएका उनी अस्पतालको एम्बुलेन्समाफर्त परशुराम नगरपालिका–१० मा रहेका घर गएका छन्।
सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना जितेका हुन्। उनको आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको छ।








