लकडाउनमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँमा खेतीपाती गर्दै


रोल्पा २६ जेठ: लकडाउनमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीतिर लागेका छन् । पूर्व सभामुख महरा रोल्पामा रहेको पुर्ख्यौली गाउँको पानो खेतमा हलो जोतेका हुन् ।सामाजिक सञ्जालमा हालै सार्वजनिक भएको एउटा तस्वीरमा उनले बारी जोतिरहेको देखिएको हो ।
तीन दिन अगाडि रोल्पा आएका महरा अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्यसहित आफ्नो पुर्ख्यौली घर गएका हुन् । राजनीतिमा सधैँ बाहिरको बाहिरै रहनुपरेको, आफ्नो पुर्ख्यौली बारी जोत्ने मौका नै नमिलेको र लकडाउनले यो मौका जुराएको उनले बताए।



पुर्ख्यौली गाउँ रोल्पा को लिवाङ मा महराको दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो रहेको छ । ती सम्पति पनि आफूले भोगचलन नगरी महराले स्थानीय सहकारीलाई दिएका छन् । महराका धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा महराले खनजोत गरिरहेको उनका ज्वाइँसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए ।
महरा प्रचण्डको विश्वासिलो पात्र भएर राजनीतिमा सधै मुलधारमा थिए । सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए ।
गत वर्ष सांसद सचिवालय एक कर्मचारीले यौन दूराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते उनले अदालतबाट सफाइ पाइसकेका छन् ।








