विचौलियाबाट बच्न मन्त्रीको निर्देशन

काठमाडौं, २९ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अमूक विचौलियाबाट बच्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका छन्। कोषको समीक्षा बैठकमा आइतबार बोल्दै उनले बृहत्तर पाशुपति क्षेत्रको हितमा लाग्न पनि सुझाव दिए।

कोषअन्तर्गतका हरेक योजना सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवा राखेर सार्वजानिक सुनुवाई गरी काम अघि बढाउन पनि मन्त्री भट्टराईले निर्देशन दिए। उनले भने, ‘बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको सुन्नमा आएको छ, त्यस्तो काम जसले गरेको भए पनि राम्रो होइन। जे गर्ने हो, पशुपतिको हितलाई ध्यानमा राखेर मात्र काम गर्नोस्।’ गत पुस २६ मा भट्टराईले ८ घण्टा पाशुपति क्षेत्रकोे स्थलगत भ्रमण गरेका थिए। उनले त्यतिबेलै तत्कालीन र दिर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए। त्यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि उनले कोषको कार्यालयमै समीक्षा बैठक राखेका थिए।

बैठकमा भट्टराईले यस्ता प्रकृतिका सार्वजनिक संस्थाहरूको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै भने, ‘निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य गर्नुभएन।’ कोषको गोठाटारको जग्गा अतिक्रमणबारे हिजो मात्रै विभिन्न सञ्चारमाध्यममा समाचारप्रति ध्यानाकर्षण भएको उनले बताए। उनले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर जग्गामा तारबार गर्नुस्, कसैले संरचना बनाएको भए तत्काल हटाउनुस्।’ गतवर्ष कोषको वार्षिक बजेट कार्यक्रम आर्थिक वर्ष सुरु भएको तीन महिनापछि आएको स्मरण गराउँदै उनले यो वर्ष साउनको दोस्रो साताभित्रै बजेट ल्याउन पनि निर्देशन दिए। मुलुक कोरोनाको त्रासबाट बिस्तारै माथि उठ्दै गरेको र सार्वजानिक सवारीसाधन चल्न थालेकाले स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने गरी तयारी थाल्न पनि उनले निर्देशन दिए।

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, कोषका सदस्य सचिव डा प्रदीप ढकाल र कार्यकारीनिर्देशक डा। घनश्याम खतिवडाले पाशुपत क्षेत्रमा गरिने निर्माण, विगतका योजनाको समीक्षा र आगामी योजनाका सम्बन्धमा जानकारी गराएका थिए। बैठकमा कोषले तयार पारेको कोषको वेवसाइट, फेसबुक, ट्विटर र एप्स साउनको पहिलो सोमबारबाट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

सम्बन्धित खवर

Back to top button