अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयरको विकास


काठमाडौं, १४ साउन: काठमाडौंमा रहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्न सकिने सफ्टवेयर विकास भएको छ ।
लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ ।



विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो सफ्टवेयर महत्वपूर्ण हुने टेक्नोलोजीले दाबी गरेका छन् ।
टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक शिवाकोटीका अनुसार निजी क्षेत्रबाट भएको यो प्रयासले केही हदसम्म हाल समस्या परेका विद्यार्थीलाई सहयोग पुग्ने दाबी गरे ।
यो सेवा लिन चाहने सरकारी विद्यालय तथा तिनै तहका सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालनको प्रस्ताव गरिएको टेक्नोलोजीले बताएको छ ।
सरकारी-निजी साझेदारी योजना अनुसार ५० प्रतिशत छुटमा यो सेवा विस्तारको योजना ल्याइएको शिवाकोटीले बताए । सेवा केही अवधिका लागि निजी शैक्षिक संस्थालाई पनि छुट दिएर देशभर विस्तार गर्ने योजना रहेको उनले बताए ।
सफ्टवेयरमार्फत घरमै बसेर कक्षा र परीक्षा लिन मिल्ने छ भने विद्यार्थी तथा शिक्षकको हाजिरीसमेत लिन मिल्ने शिवाकोटीले बताए ।
यसका साथै पाठ्यक्रम तयार पार्न, विद्यार्थी तथा शिक्षकको मूल्याङ्कन गर्न, भिडियो तथा अडियो सन्देशहरू पठाउन पनि सफ्टवेयर सहयोगी बन्ने उनले बताए ।
टेक्नोलोजीका सञ्चालक अन्जन अधिकारीले २५० भन्दा बढी सुविधा सफ्टवेयरमा भएको दाबी गरे। सफ्टवेयरमार्फत विद्यार्थी शुल्क, तलबलगायत अन्य हिसाब-किताब राख्न सकिने बताए । नियामक निकायलाई नियमन गर्न सजिलो हुने भएकाले यसमार्फत ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने दाबी उनको छ ।
आगन्तुकहरूको फोटोसहितको विवरणसमेत सफ्टवेयरमार्फत राख्न सकिने उनले बताए ।
विद्यालय व्यवस्थापनमा सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लगइन गर्न मिल्ने उनले बताए। अनलाइन परीक्षा, गृहकार्य व्यवस्थापन, परिचय-पत्र, प्रवेश-पत्र तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न सकिने र प्रिन्ट गर्न सकिने उनले बताए ।
एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, विदालगायतको जानकारी सिस्टममै दिन सकिने सफ्टवेयर लामो समयसम्म नवीकरण गर्न नपर्ने अधिकारीको दाबी छ ।







