दशैंका लागि खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको मूल्या निर्धारण हुँदै


काठमाडौं : वडादशैंका लागि खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको आज निर्धारण हुने भएको छ । मूल्य निर्धारण नहुँदा थन्किएका खसी, बोका र च्याङ्ग्राको मूल्य सरकारले सोमबार निर्धारण गर्ने भएको हो ।
सोमबार दिउँसो १२ बजे बस्ने बैठकले मूल्य निर्धारण गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। लिमिटेडले दशैंका लागि एक हजार वटा खसीबोका र दुई हजार वटा च्याङ्ग्रा काठमाडौं भित्र्याउने लक्ष्य राखेको छ। जसमा सोमबार बिहान मात्रै ५०० वटा च्याङ्ग्रा र ३७० वटा खसीबोका ल्याइपुर्याइएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन्।



मकवनपुर र दाङबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा मगाइएको छ। गत वर्ष घटस्थापनाको दिनदेखि नै मूल्य निर्धारण गरी बिक्री थाले पनि यो वर्ष दुर्इ दिन ढिला गरी मूल्य निर्धारण हुन लागेको हो।
विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको स्थानीय बजारमा मूल्य महँगो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष खसीबोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० रुपैयाँमा उपलब्ध गराइएको थियो।








