लकडाउनको मौका छोपि डडेल्धुरामा वन अतिक्रमण गरिदैं


डडेल्धुरा, १३ बैशाख : कोरोना भाइरसको महामारीका कारण सरकारले सिगों देश लकडाउन गरेको छ। लकडाउन लम्बिदै जाँदा डडेल्धुरामा भने वन अतिक्रमण तिब्र रुपमा गरिन थालिएको छ। जिल्लाको अत्यान्तै सम्वेदनसिल मानिने महाभारत पर्वत श्रृंखलाको महत्वपुर्ण वनक्षेत्रमा लकडाउनको मौका छोपि दर्जनौ टहरा निर्माण गरिएका छन्।
डिभिजन वन कार्यालय डडेल्धुराले बिगत पाँच बर्षदेखि प्रस्तावित महाभारत संरक्षित वनका रुपमा संरक्षण महाभारत वन क्षेत्र संरक्षण गरिरहेको छ। तर,अहिले महत्वपुर्ण वनक्षेत्रमा स्थानीयले टहरा निर्माण गर्न थालेपछि अतिक्रमण बढ्न थालेको हो। लामो लकडाउनको फाइदा उठाउदै वन अतिक्रमण गरि टहरा निर्माण गर्ने प्रतिसप्रर्दा चलिरहेको छ।



सुदूरपश्चिम प्रदेश सरकारद्वारा निर्माणाधिन डडेल्धुरा सदरमुकामदेखि चिरकिट्टे हुँदै परशुराम नगरपालिका जोडने सडक छेउछाउमा दर्जनौ टहरा निर्माण गरेका छन्। महाभारत संरक्षित वनसम्बन्धि प्रस्ताव स्वीकृत नहुँदा महाभारत वन क्षेत्रमा विगतदेखिनै अतिक्रमण र वन विनास हुँदै आएको थियो।
लकडाउनका बेला महाभारत वनक्षेत्रमा घरटहरा बनाउनुका साथै खनजोत शुरु गरिएको स्थानीय बताउँछन। जिल्लाको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकालाई जोडने महाभारत वन क्षेत्रमा दर्जनौ टहरा निर्माण गरिएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष गोविन्दराज बोहराले बताए। उनले पुरात्वात्विक महत्व बोकेका प्राचीन धर्मशालाहरुसमेत अतिक्रमणमा परेको जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका सबैजसो पहाडी जिल्लाबासीहरु तराई झर्ने र कञ्चनपुरको ब्रम्हदेवमण्डीबाट नुन ल्याउने परम्परागत पैदलबाटो रहेको महाभारत वन क्षेत्रमा सयौं बर्ष पुराना दर्जनौ धर्मशालाहरु छन्। महाभारत वनक्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरुसमेत अतिक्रमण गरेर घरटहरा निर्माण गरिन थालिएको स्थानीय शिक्षक वेदप्रकाश पनेरुले बताए ।
‘लकडाउननको मौका छोपेर वनक्षेत्रका बिभिन्न स्थानमा घरटहरा निर्माण भइरहेका छन्।’ उनले भने, ‘आलिताल गाउँपालिका–३ स्थित सामुदायीक वनका पदाधिकारीहरुको संलग्नतामा तराईका जिल्लाबाट आएका मानिसहरुले अतिक्रमण गरिरहेका छन्।’ पुख्र्यौली घर डडेल्धुरा भई हाल तराईका जिल्लामा रहेका दर्जनौ ब्यक्तिहरु अतिक्रमणमा संलग्न रहेको उनले बताए।
‘तराईमा घरजग्गा र थुप्रै सम्पत्ती भएका धनाड्य ब्यक्तिहरुबाट लकडाउनका बेला वन अतिक्रमण गरिन थालिएको हो। लकडाउनका बेला वनकर्मी नभएकाले अतिक्रमणकारीलाई सहज भएको छ।’ पनेरुले भने। महाभारत वनक्षेत्रमात्रै नभई अर्को सम्बेदनसिल चुरे क्षेत्रमा पनि वन अतिक्रमण गरेर घरजग्गा बनाइन थालिएको स्थानीय बताउँछन्।
डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले सम्बेदनसिल वनक्षेत्रमा लकडाउनका बेला वन विनास र अतिक्रमण भईरहेको खबर प्राप्त भईरहेको बताए। उनले वन अतिक्रमण र विनास रोक्न वनकर्मीहरुको टोली वनक्षेत्रमा पठाउने तयारी भइरहेको जानकारी दिए।








